आउँदो संस्करणको आइसिसी टी–२० विश्वकप खेल्ने टिमको टुंगो लागिसकेको छ । केही दिनअघि अफ्रिका क्षेत्र छनोट सम्पन्न भएसँगै विश्वकप खेल्ने २० टिमको टुंगो लागेको हो । यसपटक अमेरिका, क्यानडा र युगान्डाले पहिलोपटक विश्वकप खेल्नेछन् ।
अमेरिका आयोजकको हैसियतमा तथा क्यानडा र युगान्डा भने छनोट प्रतियोगिता खेलेर विश्वकपमा डेब्यू गर्न लागेका हुन् । नवौँ संस्करणको विश्वकपमा नेपालको पनि सहभागिता रहनेछ । एसिया क्षेत्र छनोटको सेमिफाइनलमा यूएईविरुद्ध ८ विकेटको जित निकाल्दै नेपालले विश्वकपको टिकट पक्का गरेको थियो ।
यस्तै, एसिया क्षेत्र छनोटबाट नेपालसँगै ओमानले पनि विश्वकपमा स्थान बनायो । आसन्न संस्करणको विश्वकपमा केही नयाँ नियम देख्न पाइनेछ । यो विश्वकप पहिलोपटक फरक ढंगबाट खेलिनेछ । सन् २०२१ र २०२२ मा पहिलो चरण र सुपर १२ फर्म्याटमा टी–२० विश्वकप खेलाइएको थियो ।
यसपटक भने विश्वकपमा नकआउट चरणअघि नै दुई चरणको खेल हुनेछ । सहभागी २० टिमलाई चार समूहमा बाँडिनेछ । प्रत्येक समूहमा ५/५ टोली हुनेछन् । समूह चरणको खेलपछि चारवटा ग्रुपबाट शीर्ष दुई टिमले सुपर आठमा स्थान बनाउने छन् । जहाँ ८ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।
सुपर आठबाट शीर्ष दुई/दुई टिम सेमिफाइनलको यात्रा गर्नेछन् । नवौँ संस्करणको विश्वकपमा नेपालले ठूला टिमविरुद्ध खेल्ने पक्काजस्तै छ ।
समूह चरणमा नेपालले कम्तीमा दुई टेस्ट टिमसहित चार देशसँग खेल्ने मौका पाउनेछ । सन् २०१४ को विश्वकपमा नेपालले पहिलो चरणमा हङकङ, बंगलादेश र अफगानिस्तानसँग खेलेको थियो ।
आउँदो संस्करणको विश्वकप २०२४ को जुन ४ देखि ३० तारिखसम्म वेस्ट इण्डिज र अमेरिकामा हुनेछ । नवौँ विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ । त्यसका लागि मुख्य प्रशिक्षक मोन्टी देसाईले आन्तरिक तयारी थालिसकेका छन् ।
विश्वकपअघि उनको रणनीति जति सकिन्छ आफूभन्दा बलियो टिमसँग सिरिज खेल्ने हुनेछ । साथै, प्रशिक्षक देसाईले विश्वकपका लागि खेलाडीको भूमिका पनि अहिलेदेखि नै प्रष्ट पार्नेछन् । त्यसले गर्दा विश्वकपमा नेपालले थप उत्कृष्ट प्रदर्शन गर्न सक्छ ।
प्रतिक्रिया