६ आश्विन २०८१, आइतबार | September 22, 2024

विश्वकपमा लगाएको मेसीको जर्सी ७.८ मिलियन डलरमा बिक्री



काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्पकपमा लगाएको जर्सी ७.८ मिलियन डलरमा बिक्री भएको छ। अमेरिकाको न्यूयोर्कमा राखिएको अक्सनमा मेसीले लगाएका ६ वटा जर्सी ७.८ मिलियन डलरमा बिक्री भएको हो।

मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकप जितेको थियो।

विश्वकपको दौरानमा मेसीले फाइनलको पहिलो हाफमा लगाएका, सेमिफाइनल, क्वाटरफाइनल, प्रिक्वाटरफाइनल र समूह चरणमा लगाएका ६ वटा जर्सी अक्सनमा राखिएको थियो।

तिनै ६ वटा जर्सी ७.८ मिलियन डलरमा बिक्री भएको हो। यसअघि म्यारोडानोको एउटै जर्सी ७.१ मिलियन डलरमा बिक्री भएको थियो।

म्याराडोनाको ‘ह्याण्ड अफ गड’ जर्सी सन् २०२२ मा अक्सनमा राखिएको थियो। उक्त जर्सी ७.१ मिलियन डलरमा बिक्री भएको थियो। म्याराडोनाले हातले परेको गोललाई त्यतिबेला रेफ्रीले समेत ठम्याउन सकेका थिएनन्। म्याराडोनाको उक्त ‘हाते’ गोललाई ह्याण्ड अफ गड भनिने गरिन्छ।

विश्वकपको इतिहासमै समूह चरणदेखि प्रिक्वाटर फाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने एक मात्र खेलाडी मेसी बनेका थिए। आठ पटकका बालोन डिओर विजेता मेसीले विश्वकपमा सबै सात वटै खेल खेलका थिए। जसमा उनले समूह चरणमा २ वटा खेलमा एउटै जर्सी लगाएका थिए। त्यसैले ६ वटा जर्सी मात्र अक्सनमा राखिएको थियो।

जर्सी लिलामीबाट प्राप्त रकम मध्येको १ भाग दुलर्भ रोगबाट पीडित बालबालिकाको उपचारमा खर्च गरिने बताइएको छ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १२ : १३ बजे