५ आश्विन २०८१, शनिबार | September 21, 2024

वार्नरले आईपीएल उपाधि दिलाएको टोलीले नै उनलाई इन्स्टामा ब्लक गरेपछि…



अस्ट्रेलियाका क्रिकेटर डेविड वार्नरले मंगलबार तितो सत्य थाहा पाए । मंगलबार दुबईमा भएको इन्डियन प्रिमियर लिग आईपीएलको अक्सनमा अस्ट्रेलियाका ट्रेभिस हेड र प्याट कमिन्सलाई फ्रेन्चाईजी टोली सनराइजर्स हैदरबादले अनुबन्ध गर्‍यो ।

सनराइजर्सले हेडलाई ६ करोड ८० लाखमा अनुबन्ध गर्‍यो भने कमिन्सलाई २० करोड ५० लाखमा अनुबन्ध गरेको थियो । आफूले लामो समयसम्म खेलेको टोलीमा आफ्ना साथीहरू अनुबन्ध भएकाले वार्नरले उनीहरूलाई बधाई दिन सनराइजर्सको इन्स्टाग्रामको पोस्टलाई सेयर गर्न खोज्दा उनले अच्चमित हुने कुरा देखे ।

ट्रेभिस हेडको पोस्ट आफ्नो खातामा सेयर गर्न खोज्दा उनको फोनमा कालो स्क्रिनमा ‘यो पोस्ट अनुपलब्ध छ’ भन्ने देखियो । पछि उनले आफ्नो इन्स्टाग्राममा ‘ट्रेभिस हेडको पोस्टलाई पुनःपोस्ट गर्ने प्रयास गर्दा सनराइजर्सले आफूलाई ब्लक गरेको रहेछ’ भन्दै स्टोरी सेयर गरे ।

सन् २०१४ को आईपीएलबाट सनराइजर्सको तर्फबाट खेलेका वार्नर सन् २०१५ को संस्करणमा उक्त टोलीको कप्तान बनेका थिए । वार्नरकै कप्तानीमा सनराइजर्सले पहिलो पटक सन् २०१६ मा आईपीएलको ट्रफी जितेको थियो । फाइनलमा बैंग्लोरलाई ८ रनले पराजित गर्दा वार्नरले ६९ रन बनाएका थिए । नयाँ संस्करणको आईपीएलमा भने वार्नरले दिल्ली क्यापिटल्सबाट खेल्दै छन् ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १ : ३७ बजे