६ आश्विन २०८१, आइतबार | September 22, 2024

जन्मदिनमा एम्बाप्पेको २ गोल, भाइले गरे डेब्यू



पेरिस सेन्टजर्मेन (पिएसजी) ले फ्रेन्च लिगमा मेट्जलाई ३–१ ले हराएको छ । गएराति सम्पन्न खेलमा पिएसजीको जितमा केलियन एम्बाप्पेले २ र भिटिन्हाले १ गोल गरे । मेट्जका लागि म्याथ्यु उडोलले १ गोल पर्काए ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा पिएसजीले भिटिन्हाको ४९ औँ मिनेटको गोलमार्फत् खेलमा अग्रता लिएको थियो । एम्बाप्पेले ६० औँ मिनेटमा भिटिन्हाको पासमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।

७२औँ मिनेटमा म्याथ्यू उडोलले गोल गर्दै मेट्जको आशा कायम राखेका थिए । तर, एम्बाप्पेले निर्धारित समयको सात मिनेट बाँकी रहँदा व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ३–१ को जित दिलाए । एम्बाप्पेलेले २५औँ जन्मदिनमा २ गोल गरेका हुन् ।

योसँगै उनी ६ वर्षभित्र जन्मदिनमा दुईपटक गोल गर्ने एक्लो पिएसजी खेलाडी बने । उनले यसअघि १९ औँ जन्मदिनमा क्याइनलाई ३–१ ले पराजित गर्दा पनि २ गोल गरेका थिए ।

इन्जुरी समयमा प्रशिक्षक लुइस इनरिकले एम्बाप्पेका १६ वर्षीय भाइ इथन एम्बाप्पेलाई डेब्यू गराएका थिए । जितसँगै पिएसजी दोस्रो स्थानको नाइससँग ५ अंकको अग्रता बनाउँदै शीर्ष स्थानमा कायम रह्यो ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १० : ३१ बजे