२ आश्विन २०८१, बुधबार | September 18, 2024

झन्डै २० लाख नगदसहित हुण्डी कारोबारमा संलग्न एक ब्यक्ति पक्राउ



मोरङ- विराटनगरमा हुण्डी कारोबारमा संलग्न एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगर- ६ को केशलिया मार्गमा ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई स्रोत नखुलेको हुण्डी रकम १९ लाख ९० हजार रुपैयाँसहित बुधबार बेलुका पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालले केशलिया मार्गमा संका लागेर जाँच गर्ने क्रममा साहसंग ठूलो रकम भेटिएको जानकारी दिए ।

सुनसरीको देवानगञ्ज गाँउपालिकाका साहको साथबाट रकम र को.७ प ५२२१ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको उनले बताए । यसक्रममा साहले बोकेको ठूलो रकमको स्रोत खुलाउन नसकेको प्रहरी नायब उपरिक्षक दाहालको भनाइ छ ।

हाल पक्राउ परेका साहलाई थप कार्वाहीका लागि सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयमा पठाएको छ । मोरङ प्रहरीले पछिल्लोसमय हुन्डी कारोबारलाई नियन्त्रण गर्न अघि बढाएको विशेष अभियान अन्तर्गत गत कार्तिक १४ गते विराटनगर बजारबाट एक बालकलाई २१ लाख ८७ हजार रुपैयासहित पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १२ : ३१ बजे