६ आश्विन २०८१, आइतबार | September 22, 2024

शाहरुख खान छाइरहेको वर्ष



काठमाडौं– सन् २०२३मा शाहरुख खान फिल्म क्षेत्रमा चर्चाकै शिखरमा रहे। कारण उनी स्टारर ‘पठान’ र ‘जवान’ ले धेरै पुराना रेकर्ड तोडेर नयाँ रेकर्ड समेत बनाए। ‘डंकी’ पनि विश्वव्यापी रुपमा दुई सय करोड क्लबमा प्रवेश गरेको छ।

‘पठान’ र ‘जवान’ एक्सन विधाका फिल्म थिए। जबकि ‘डंकी’ सामाजिक नाटक विधाको फिल्म थियो। शाहरुख अब आफ्नी छोरी सुहाना खानको फिल्ममा पनि केमियोमा देखिनेछन्।

आगामी वर्ष शाहरुखसँग तीनवटा एक्सन फिल्म छन्। जसमध्ये दुई साउथका निर्देशकसँग उनले काम गर्नेछन्। यी फिल्म लोकेश कनागराज र सन्दीप रेड्डी वांगाको हुन सक्ने अनुमान छ।

‘जवान’ फेम निर्देशक एटलीसँग शाहरुखको पुन: साझेदारी हुन समय लाग्न सक्छ। एटली अर्को वर्ष अल्लु अर्जुनसँग फिल्म बनाउँदैछन्। तर, एट्लीले यसअघि शाहरुख खान र विजय थलापाठीसँग फिल्म बनाउने योजना सार्वजनिक गरेका थिए। तर हालै मात्र शाहरुख र एट्लीको साझेदारीमा बन्न लागेको फिल्ममा समय लाग्ने कुरा बाहिर आएको छ।

स्वयम् एट्लीका नजिकका व्यक्तिहरूले पनि यसको पुष्टि गरेका छन्। एट्लीको टिम अहिले वरुण धवनको फिल्म ‘वीडी १८’ मा व्यस्त छ। फिल्म ‘भिडी १८’ को ५५ प्रतिशतभन्दा बढी काम बाँकी रहेकाले नयाँ वर्षमा पनि एट्लीको टिम वरुण धवनको फिल्ममा व्यस्त हुने भएको छ।

अल्लु अर्जुनसँग एट्लीको फिल्म पनि अर्को वर्ष ‘पुष्पा २’ रिलिज भएपछि मात्रै सुरु हुनेछ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  २ : ४४ बजे