मुम्बई– बलिउडको पछिल्लो फिल्म ‘फाइटर’ यही माघ ११ गते बिहीवारदेखि प्रदर्शनमा आउँदैछ । ऋतिक रोशन, दीपिका पादुकोण, अनिल कपूर र करण सिंह ग्रोवर अभिनित यो एक्सन प्रधान फिल्म जनवरी २५ का दिनदेखि प्रदर्शनमा आउन लागेको हो ।
यो वर्ष प्रदर्शन भएका ‘मेरी क्रिसमस’ तथा ‘मैँ अटल हूँ’ ले बक्स अफिसमा निराशाजनक प्रदर्शनपछि ‘फाइटर’ सन् २०२४ को आशा गरिएको फिल्म बनेको छ ।
त्यसो त फिल्मको एडभान्स बुकिङको तथ्यांक हेर्दा उत्साहजनक रहेको छ । तर फिल्मले पहिलो दिन बम्पर शुरुवात गर्नका लागि बाँकी दुई दिनमा अझ बढी अग्रिम बुकिङ हुनुपर्ने बलिउडका फिल्म विश्लेषकहरुको भनाइ छ ।
२० जनवरीदेखि प्रारम्भ भएको अग्रिम टिकट बुकिङ अन्तर्गत आइतबार राति सम्म ८७ हजार भन्दा बढी टिकट बुक भइसकेको बताइन्छ । त्यस्तै सोमवार रातिसम्म टिकट बुकिङमा तिव्रता आएर एक लाख १५ हजार भन्दा बटी बुकिङ भइसकेको दावी गरिएको छ ।
‘फाइटर’ ले एडभान्स बुकिङबाटै ३ करोड ७० लाख भारतीय रुपैयाँ आम्दानी गरिसकेको छ । फिल्मको शो संख्या पनि बढाएर अहिले ८ हजार ७ सय ७७ पुर्याइएको छ ।
अहिलेको एडभान्स बुकिङको ट्रेण्ड हेर्दा फाइटरलाई आन्ध्र र निजाम सर्किटमा उत्साहजनक रेस्पोन्स प्राप्त भएको छ भने मास हिन्दी सर्किटमा भने फाइटर अन्य फिल्मको तुलनामा केहि कम छ । यद्यपि, प्रदर्शनमा आएपछि यो ट्रेण्डमा परिवर्तन हुने अपेक्षा गरिएको छ ।
दर्शकलाई यो फिल्म मन पर्यो भने बक्स अफिसमा लामो समयसम्म टिकिरहन सक्छ ।
सन् २०२३ मा सिद्धार्थ आनन्ददको निर्देशनमा बनेको फिल्म ‘पठान’ ले ओपनिङ डेमा ५७ करोड भारुको बम्पर कलेक्शन गर्न सफल रहेको थियो । भारतको गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शन भएको फिल्मले सबैभन्दा राम्रो ओपनिङ गर्न सफल फिल्महरुमा ‘पठान’ पछि ‘पद्मावत’ हो, जसले २४ करोड भारु आम्दानी गरेको थियो ।
‘फाइटर’ को एडभान्स बुकिङ हेर्दा फिल्मले पहिलो दिन २५ देखि ३० करोड भारुको कारोबार गर्न सक्ने अनुमान लगाउन सकिन्छ । यो फिल्म २ सय ५० करोड भारुको बजेटमा बनेको हो । त्यसैले फिल्म हिट हुनका लागि कम्तिमा पनि पाँच करोड भारु कमाउनु आवश्यक छ ।
प्रतिक्रिया