३० माघ २०८२, बिहिबार | February 12, 2026

मोरङको उर्लाबारीमा भेटिएको हिउँ चितुवा जावलाखेल चिडियाखानामा ल्याइयो



काठमाडौं- मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको हिउँ चितुवा सदर चिडियाखाना,जावलाखेल ल्याइएको छ। गत बुधबार भेटिएको वयस्क भाले हिउँ चितुवा शुक्रबार जावलाखेलमा ल्याइएको हो।

शुक्रबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्रकार सम्मेलन गर्दै मोरङको उर्लाबारी–१ चारघरे भन्ने ठाउँमा बाँसको झ्याङमा बसेको अवस्थामा भेटिएको हिउँ चितुवालाई उद्धार गरेर जावलाखेल सदर चिडियाखाना ल्याइएको जानकारी दिएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धु ढुङ्गानाले उर्लाबारीमा भेटिएको हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज देखिएकाले उपचार गरेर बासस्थानमा पठाउने बताए। उनले सदर चिडियाखानामा हिउँ चितुवाको उद्धारका लागि राखिएको जानकारी दिए।

उर्लाबारी क्षेत्रमा हिउँ चितुवा भेटिनु अस्वभाविक भएको बताउँदै उनले पाटे बाघको बासस्थानको उचाईमा हिउँ चितुवा देखिनु अस्वभाविक र अनुसन्धानको विषय बनेको उल्लेख गरे।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ७ : ०३ बजे