३१ भाद्र २०८१, सोमबार | September 16, 2024

नेपाल अपराजित रहँदै एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलमा



काठमाडौं । नेपाल अपराजित रहँदै एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको आफ्नो अन्तिम खेलमा मंगलबार माल्दिभ्सलाई २१४ रनको फराकिलो अन्तरमा पराजित गर्दै नेपाल सतप्रतिशत नतिजासहित क्वार्टरफाइनलमा पुगेको हो । समूह डीमा रहेको नेपालले यसअघि हङकङ र भुटानलाई समान ८ विकेटले हराएको थियो ।

नेपालले प्रस्तुत गरेको २२८ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा १३ रनमा अलआउट भयो । माल्दिभ्सका ६ जना ब्याटर शून्य रनमा आउट भए । अन्यले पनि दोहारो अंक छुन सकेनन् ।

नेपालका लागि अस्मिना कर्माचार्यले ४ तथा पूजा महतो र रुविना क्षेत्रीले समान ३–३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २२७ रनको उच्च योगफल तयार पारेको थियो । नेपालका लागि रुविना क्षेत्रीले कीर्तिमानी शतक बनाइन् । रुविनाले ५४ बलमा १० चौका र ३ छक्कासहित शतक पूरा गरिन् । पूजा महतोले अर्धशतक बनाए ।

रुविना ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ र पूजा ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नटआउट रहिन् । पाँचौं विकेटका लागि रुविना र पूजाले ८२ बलमा नटआउट १६६ रनको साझेदारी गरेका थिए । नेपालबाट यो कुनै पनि विकेटका लागि भएको महिला टी२० आईको उच्च साझेदारी हो ।

नेपालका लागि कविता कुँवरले १३, सीता रानामगरले १५ र डली भट्टले ६ रन बनाइन् । कप्ताल इन्दु बर्मा भने डक आउट भइन् । माल्दिभ्सकी शम्मा अलीले ३ र नब्बा बिन्थु नसिमले १ विकेट लिइन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  २ : १२ बजे