५ आश्विन २०८१, शनिबार | September 21, 2024

योगदर्शनको सामाजिक प्रभावबारे बहस



आसर-२२

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञान, विज्ञान, दर्शनलगायत सबै विषयको मूल स्रोत समाज नै भएको बताउनुभएको छ ।

उहाँले पूर्वीय योगदर्शनलाई पश्चिमाले समेत व्यापक बनाइसकेकाले यसको व्यापक खोजअनुसन्धान गर्दै थप सामाजिकीकरण गर्नुपर्ने बताउनुभयो । प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागले डा टिपी धमलाद्वारा लिखित कार्यपत्र ‘योगदर्शनको सामाजिक प्रभाव’ विषयक विचार गोष्ठीको उद्घाटन गर्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।

प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले पूर्वीयदर्शनमा योगको सामाजिक प्रभावको व्यापकतालाई सुव्यवस्थित गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा कौशिला रिसालले योगको सैद्धान्तिक, सामाजिक र व्यावहारिक पक्षलाई आत्मसात् गर्दै स्वच्छ र स्वस्थ जीवनयापनका लागि योगदर्शनको शिक्षालाई व्यापक तुल्याउन सक्नुपर्नेमा जोड दिनुभयो । सदस्य धर्मेश पोखरेलले योगदर्शन र साधना आत्मिक चिन्तन भएको र यसको सामाजिक आयामका बारेमा व्यापक छलफल हुनुपर्ने बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै डा धमलाले योगले चित्तका वृत्ति, मनका गुण, योगका बिघ्न, क्लेश आदिको समाधान गरी चेतना विज्ञानको कार्य गर्ने बताउनुभयो । “यसले अज्ञानता हटाई जीवनलाई दिव्य बनाउँछ, यी सम्पूर्ण पक्षको उपलब्धि हासिल गर्नका लागि योगको आवश्यकता पर्दछ, जसले स्वस्थ शारीरिक, स्वस्थ मानसिकता, आनन्दानुभूति मानव, महामानव र दिव्यमानव बनाउन सक्छ”, उहाँले भन्नुभयो ।

कार्यपत्रको टिप्पणी गर्दै डा माधवप्रसाद उपाध्यायले योग साधना स्वास्थ्यवद्र्धधक, भौतिक उन्नति, आध्यात्मिक चेतना, सांस्कृतिकलगायत क्षेत्रमा व्यापक रहेको र यसको सामाजिकीकरणका बारेमा थप व्याख्या हुनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी योगदर्शनको सामाजिक प्रभाव विषयक कार्यपत्र तथा विचार गोष्ठीका सहभागी सर्वराज आचार्यले नेपाल बहुसामाजिक, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सामाजिक विभेद र असमानताका विषयलाई चित्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्का सहभागी प्राडा श्रीराम उपाध्यायले योग र ध्यानको बहुआयामिक र सामाजिक प्रभावलाई सबैले ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै आनन्द गैह्रेले सहभागिताका क्रममा योगको सामाजिक र आध्यात्मिक तत्वबारे व्यापक खोजी हुनुपर्ने बताउनुभयो ।

यसैगरी अर्का सहभागी श्रीराम पाण्डेले योगका बारेमा विज्ञानले पुष्टि गरेका विषयवस्तुको अध्ययन अनिवार्य रहेको बताउनुभयो । समग्रमा योगदर्शनको सामाजिक प्रभाव र महत्वका विषयमा सो विचार गोष्ठी केन्द्रित रह्यो । योगदर्शनले सांस्कृतिक र जातीय विविधता, स्वास्थ्य, आर्थिक, राजनीतिक, वैज्ञानिक, वैदिक सनातन, सामाजिक समानता, असमानतालगायत विषयमा व्यापक प्रभाव पारेको चर्चा कार्यक्रममा गरिएको थियो ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ३ : २२ बजे