३१ भाद्र २०८१, सोमबार | September 16, 2024

युवा राजनीतिज्ञ कोइरालाको ‘राजव्यूह’ लोकार्पण



चितवनका युवा राजनीतिज्ञ कैलाश कोइरालाद्वारा लिखित उपन्यास ‘राजव्यूह’को एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । कृति लेखककी माता पार्वती कोइराला र नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संयुक्तरूपमा लोकार्पण गर्नुभएको हो ।

नेपालको राजनीतिमा हुने गरेको चलखेल, अहिलेको समाज र प्रेमको विषयमा आधारित भएर उपन्यास लेखिएको छ । वैचारिक प्रष्टता र राजनीतिक ओजसहित आएको यस कृतिले नेपाली समाजको पछिल्लो समयलाई यथार्थ चित्रण गरेको छ ।

कार्यक्रममा कांग्रेसका प्रदेश सभापति बानियाँले पुस्तकले राजनीतिको भ्रम र झुटको बीचमा यथार्थ र सत्यमा जोड्ने प्रयास गरेको बताउनुभयो । मुलुकको राजनीति कुन चक्रव्यूहमा जाँदैछ भन्ने यस पुस्तकबाट पाइने उहाँले बताउनुभयो । लेखकले यहाँ दिएको पात्रले देशको राजनीतिक अवस्था, समाजको अवस्था र प्रेमको कुरालाई यथार्थरूपमा प्रस्तुत गरेको उहाँको भनाइ छ । राजनीतिसँगै साहित्यलाई लान सके समाज परिवर्तन गर्न सकिने उहाँले बताउनुभयो ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले कोइरालाको कृतिले समाज परिवर्तनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । चौबीसवटा खण्डमा लेखिएको सो उपन्यासले समाजलाई झस्काउने काम गरेको समीक्षक उदय अधिकारीले बताउनुभयो । उहाँले पछिल्लो समय राजनीति गरेर हिँड्नेको अवस्था के छ र कसरी घर चलिरहेको छ ? भन्ने कुरा यस कृतिले स्पष्ट पारेको बताउनुभयो । राजनीतिज्ञहरू पहिलेदेखि नै साहित्यमा लाग्ने गरेको उल्लेख गर्दै उहाँले साहित्यमार्फत समाज रूपान्तरणमा सहज हुने बताउनुभयो ।

अर्का समीक्षक डा भोजराज अधिकारीले कृति तथ्यपरक रहेको बताउनुभयो । सामान्य व्यक्तिले समेत बुझ्न सक्ने कृति रहेकाले यसले राजनीति र समाज परिवर्तनमा भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले राजनीतिसँगै साहित्यलाई अघि बढाउन कठिन हुने बताउँदै कोइरालालाई आगामी दिनका लागि शुभकामना व्यक्त गर्नुभयो । राजनीतिमा देखिएको बेथिति हटाउन यो उपन्यास सहयोगी बन्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा साहित्यकार डा नवराज लम्सालले राजनीतिलाई सुधार गर्नका लागि यस्ता कृतिको आवश्यकता रहेको बताउनुभयो । उहाँले यस कृतिमा भएका पात्रको भूमिकाले उपन्यासलाई अझै प्रभावकारी बनाउन मद्दत गरेको बताउनुभयो ।

सो अवसरमा चितवन कांग्रेसका पूर्वपार्टी सभापति विकास कोइराला, कृष्णलाल सापकोटा, वाम बुद्धिजीवी प्रेम रिमाल, सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटालगायतले कोइरालाको कृतिले समाजको वास्तविकतालाई चित्रण गरेको बताउनुभयो । एक सय ६८ पृष्ठको सो कृति नारायणगढको सम्पूर्ण किताबले बजारमा ल्याएको छ । कृतिका लेखक कोइराला नेपाली कांग्रेस चितवनका महाधिवेशन प्रतिनिधि एवं बागमती प्रदेशको कार्यसम्पादन समितिका सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ८ : १५ बजे