८ आश्विन २०८१, मंगलबार | September 25, 2024

राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल



काठमाडौँ, १२ साउन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताउनुभएको छ।

इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले राजीनामा दिने भए देऊ, नभए सदन चल्दैन भनेर विपक्षीले गरेको अवरोध राम्रो नभएको बताउनुभयो । उहाँले उपप्रधानमन्त्री, मन्त्रीहरूसँग छलफल गरेर यस विषयमा प्रष्ट पार्ने स्पष्ट पार्नुभयो । स्पष्टीकरणको मौका नै नदिई एकोहोरो राजीनामा मात्रै माग्ने संस्कार राम्रो नभएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

यस्तै देशव्यापीरूपमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारको तर्फबाट आवश्यक मेहनत गरिएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को बैठक, अन्य सरोकारवाला निकायसँगको छलफलमा पनि सो रोग नियन्त्रणका लागि आवश्यक पहल गरिएको र लाखाँै पशु चौपायालाई खोप लगाइएको बताउनुभयो ।

प्रधानमन्त्रीको हैसियतमा संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागिता आफैँमा महत्त्वपूर्ण रहेको उहाँले जानकारी दिनुभयो । विश्व समुदायमा नेपालको उपस्थिति र हैसियत थप स्थापित गर्न सम्मेलन महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  ११ : १६ बजे