८ आश्विन २०८१, मंगलबार | September 24, 2024

राष्ट्रपतिले प्रधानमन्त्रीलाई सोधे- संसद अवरोध किन?



काठमाडौं । संसद्को जारी गतिरोध अन्त्यको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले चासो देखाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहीबार शीतलनिवास बोलाएर संसद्को जारी गतिरोधको विषयमा राष्ट्रपति पौडेलले चासो देखाएको उनको सचिवालयले जानकारी दिएको छ । यो विषयमा थप जानकारी लिन राष्ट्रपति पौडेलले शुक्रबार बिहान १० बजे सभामुख देवराज घिमिरलेलाई शीतलनिवास बोलाएका छन् ।

“उहाँले आज विशेष गरेर सदनको गतिरोधबारे चासो राख्नुभयो । निरन्तर सदन अवरोध हुँदा जनसवालको विषयमा सदन गम्भीर हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो,” पौडेलको सचिवालयले बाह्रखरीसँग भन्यो ।

स्वास्थ्यमा क्रमशः सुधार आउँदै गएपछि आफूलाई सक्रिय बनाउन राष्ट्रपति पौडेलले थालनी गरेको हुन् । “आज प्रधानमन्त्रीसँग कुरा भयो । भोलि बिहान १० बजे सभामुख देवराज घिमिरेसँग पनि कुराकानी उहाँले गर्दै हुनुहुन्छ,” सचिवालय स्रोतले भन्यो ।

प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषयमा पनि चासो राखेका छन् । “तपाईँकै समयमा यो विधेयक पास गरेर शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्नुपर्छ भनेर उहाँले भन्नुयभो,” सचिवालयले भन्यो ।

यस्तै, राष्ट्रपति पौडेलले शिक्षा ऐन नआउँदै विवाद बढेको भन्दै यसलाई पनि ध्यान दिन सुझाव दिएको बताइएको छ । जवाफ प्रधानमन्त्री प्रचण्डले यी विषयमा आफू गम्भीर भएको बताएको सचिवालयले जानकारी दियो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ७ : ०३ बजे