८ आश्विन २०८१, मंगलबार | September 24, 2024

मकवानपुरमा खोलाले बगाउँदा चार वर्षीय बालिकाको मृत्यु



बागमती, ३ भदौ : मकवानपुरमा खोलाले बगाउँदा चार वर्षीय बालिकाको मृत्यु भएको छ । आज अपराह्न मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित मनहरि खोलाले बगाउँदा सोही ठाउँका सुमनसिंह स्याङतानकी चार वर्षीय छोरी प्रमिसा स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

साथीहरूसँग पौडी खेल्न गएकी प्रमिसालाई खोलाले बगाई मृत्यु भएको भनी स्थानीयवासीले खबर गरेपछि स्थानीय प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा प्रहरी गई घटनास्थल सुरक्षित राखेको तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ९ : ३७ बजे