७ आश्विन २०८१, सोमबार | September 23, 2024

जब ठूलालाई समात्ने बेला हुन्छ सीआईबीको गाडी मोडिन्छ : योगेश भट्टराई



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले बाहिर हल्ला गरे जस्तो एमाले संसद् विरोधी नभएको बताएका छन् ।

आज (बुधबार) को प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सत्ता पक्षलाई सदन नचाहिए पनि एमालेलाई सधै संसद् चाहिने दाबी गरे । ‘यो १० वटामध्ये पाँच बैठक सत्ताको अनुरोधमा सूचना टाँसेर बैठक स्थगन, तीन वटा बैठक हल्ला गरेर चलेको । दुईवटा बैठकमा गृहमन्त्रीले जवाफ दिनु भएको थियो । बाहिर विभिन्न ढंगले हल्ला चलायो एमालेले संसद् अवरोध गर्‍यो । यो सदन सत्तालई चाहिन्छ चाहिँदैन तर, नेकपा (एमाले) लाई चाहिन्छ,” उनले भने ।

अविश्वासको प्रस्ताव दर्ता हुँदा मनोमोहन अधिकारीले शिक्षण अस्पतालको बेडबाट सदनलाई सम्बोधन गरेर राजीनामा पेस गरेको उदाहरण प्रस्तुत गर्दै उनले एमालेलाई संसद् अत्यन्तै प्रिय लाग्ने जिकिर गरे । साथै उनले एमालेलाई सीआईबी विरोधी हो भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि दाबी गरे ।

‘उच्च पदस्थ संलग्न छन् भने कारबाहीको दायरमा आउनु पर्छ भन्यौं । सीआईबी र हाम्रो पार्टीबीच अविश्वास गर्ने कुरा भयो । त्यसमा खेद छ । हामी राज्यको प्रत्येक निकायमा विश्वास गर्छौं । जब ठूला समात्ने बेला हुन्छ सीआईबीको गाडी मोडिन्छ त्यसैले समितिको माग गरेका हौं । अदालतप्रति अगाध विश्वास छ अख्तियारप्रति पनि । राजनीतिक दबावका कारण स्वतन्त्रपूर्व काम गर्न दिइएको छैन । हामी स्वतन्त्र छानबिनको पक्षमा छौँ’, उनले भने । एमालेको माग बमोजिम समिति बनाएकोमा उनले सरकारसहित सबै दललाई धन्यवाद दिए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ५ : ४६ बजे