७ आश्विन २०८१, सोमबार | September 23, 2024

८३ वर्षीया वृद्धाको हत्या आरोपमा दुईजना पक्राउ



जिल्ला प्रहरी कार्यालय दार्चुलाले मालिकार्जुन गाउँपालिका– ७ की ८३ वर्षीया भागरथी चन्द हत्या आरोपितलाई सार्वजनिक गरेको छ। आइतबार पत्रकार सम्मेलन गरेर चन्दको हत्या आरोपमा उनका नाति २१ वर्षीय दीपक चन्द र दुहुँ गाउँपालिका– ३ का १८ वर्षीय आशिष बमलाई प्रहरीले सार्वजनिक गरेको हो।

भदौ ८ गते घरमा एक्लै रहेकी वृद्धा एकल महिला चन्दलाई दुवैजनाले हँसिया, कैँची र चक्कु प्रहार गरी हत्या गरेको उनीहरूले स्वीकार गरेका जिल्ला प्रहरी प्रमुख डिएसपी तर्कराज पाण्डेले बताए। भदौ ११ गते घरभन्दा तीन सय मिटर पर भिरालो जमिनमा शव फेला परेको थियो।

 

वृद्धाको घरबाट उनीहरूले अमेरिकी डलर १०० का पाँचवटा नोट, १००० को कोरियन यान एउटा नोट तथा ४० हजार नेपाली रुपैयाँ लुटेको पाइएको छ। यस्तै सुनको गहना बिक्री गरी ९० हजार रुपैयाँ लिएको पाइएको प्रहरीले जनाएको छ।

हत्यालगत्तै फरार रहेका दुवैजनालाई प्रहरीले भदौ १२ गते कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ बसपार्कनजिकबाट पक्राउ गरेको डिएसपी पाण्डेले बताए। सदरमुकाम खलंगामा बस्दै आएका दुवैजना हत्यालगत्तै भदौ ९ गते भारतको धार्चुला गएको प्रहरीले जनाएको छ। भदौ १० गते उनीहरू सदरमुकाम खलंगामा सुन बिक्री गरी भारतको बाटो हुँदै महेन्द्रनगर पुगेका थिए।

उनीहरूलाई दार्चुला ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध भदौ १२ गते नै ज्यानसम्बन्धी कसुर तथा अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको डिएसपी पाण्डेले बताए।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ४ : ५३ बजे