७ आश्विन २०८१, सोमबार | September 24, 2024

पूर्वराजाको एक झल्को हेर्न भक्तपुरमा स्थानीयको तँछाडमछाड



पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर जाने कार्यक्रम केही दिनअघि नै तय भएको थियो। भक्तपुरबासीकै निम्तामा पूर्वराजा शाह आइतबार भक्तपुर दरबार स्क्वायरको अवलोकन र तलेजु मन्दिरको दर्शनका लागि पुगेका थिए।

पूर्वराजा शाह भक्तपुर पुग्दा हजारौँको संख्यामा स्थानीयहरुले उनको स्वागत गरेका थिए। उनलाई स्वागत गर्नेहरुको भिडमा युवा, बृद्धबृद्धा र अधबैँसेहरु थिए।

ठूलो संख्यामा जम्मा भएका स्थानीयले ‘राजा आऊ, देश बचाऊ’ को नारा लगाएका थिए।

स्थानीयहरुले पुष्पगुच्छा दिँदा पूर्वराजा शाहले उनीहरुसँग अन्तर्क्रिया पनि गरेका थिए।

भित्रै गएर तलेजु भगवतीको दर्शन गरी पूर्वराजा शाहले भक्तपुर दरबार स्क्वायरमा रहेका अन्य मन्दिरहरुको पनि दर्शन गरेका थिए।

पूर्वराजा शाहको एक झल्को हेर्न स्थानीयहरु तँछाडमछाड गर्दै भिडमा अगाडि आएका थिए।

नेपाल मजदूर किसान पार्टीका समर्थकहरुको संख्या ठूलो रहेको भक्तपुर सहर क्षेत्रमा पूर्वराजाको भ्रमणका लागि आउँदा स्थानीयहरुको उत्साह हेर्नलायक देखिएको थियो।

पूर्वराजाको स्वागतका लागि उपस्थित सर्वसाधारणहरुले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए भने परम्परागत पहिरनमा सजिएका थिए। उनीहरु अधिकांशले हातमा पूर्वराजालाई दिन फूल बोकेका थिए।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ५ : ०३ बजे