४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

विश्वकप क्रिकेटका लागि टोली घोषणा गर्ने आज अन्तिम दिन



काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण सुरु हुन अब सात दिनमात्र बाँकी छ । प्रतियोगिता अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका लागि सहभागी १० वटै राष्ट्रले आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

केही राष्ट्रले घाइते खेलाडीलाई पनि टोलीमा समावेश गरेका छन् । केही राष्ट्रले भने वैकल्पिक खेलाडीको सूचि पनि सार्वजनिक गरेका छन् । तर, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकपका लागि टोली घोषणा गर्ने अन्तिम मिति बिहीबार साँझसम्मलाई तोकेको छ ।

त्यसैले सहभागी राष्ट्रहरुले बिहीबार साँझसम्म आफ्नो टोलीको अन्तिम नामावाली आईसीसी समक्ष बुझाउनु पर्नेछ । सहभागी राष्ट्रहरुले यसअघि घोषणा गरेको आफ्नो टोलीमा पनि बिहीबारसम्म फेरबदल गर्न पाउने छन् ।
बिहीबारपछि भने कुनै पनि राष्ट्रले आफ्नो इच्छा अनुसार टोलीमा परिवर्तन गर्न पाउने छैनन् । विभिन्न कारणले टोलीमा थपघट गर्नै पर्ने भए पनि उचित कारण देखाउँदै आईसीसीको अनुमति लिनुपर्ने हुन्छ । आगामी विश्वकपका लागि आयोजक भारतले केही साताअघि नै १५ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ११ : २५ बजे