३ आश्विन २०८१, बिहिबार | September 19, 2024

चितवनमा हजुरआमाको हत्या गरी फरार नाति १९ वर्षपछि पक्राउ



चितवन । हजुरआमाको हत्या गरी फरार एक व्यक्ति १९ वर्षपछि पक्राउ परेका छन् ।

हजुरआमाको हत्या गरी फरार रहेका कृष्ण भनिने तोयनाथ चापागाइँलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार उनी भरतपुर ७, कृष्णपुरकी मनकुमारी वाग्लेको हत्या गरी फरार रहेका थिए । साधु भेष बदलेर नवलपुर वर्दघाट ४ मा रहेको बाढीपीडित स्थित शिव मन्दिरबाट उनलाई पक्राउ गरिएको हो । २०६१ साल मंसिर १४ गते चापागाइले आफ्नो सौतेनी हजुरआमाको हत्या गरेका थिए । उक्त समयमा २४ वर्षका चापागाई अहिले ४३ वर्षका भएका छन् ।

चापागाईंको अनुसन्धानको लागि जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले बताएको छ । बयानमा उनले सौतेनी हजुरआमाले आफू र आफ्नी आमाबारे होच्याएर बोल्ने गरेको र मादक पदार्थ सेवन गरेको बेला हत्या भएको स्वीकार गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ५ : ३५ बजे