३ आश्विन २०८१, बिहिबार | September 20, 2024

यमनविरुद्ध जित्नका लागि खेल्छौँः नेपाल



काठमाडौँ – विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा मंगलबार घरेलु मैदानमा नेपालले यमनलाई हराउनका लागि प्रतिस्पर्धा गर्ने बताएको छ। नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र कप्तान किरणकुमार लिम्बुले विश्वकप छनोटमा यमनविरुद्ध जित्नका लागि मैदान उत्रिने बताए।

विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा नेपालले मंगलबार घरेलु मैदानमा यमनविरुद्ध प्रतिस्पर्धा गर्दैछ। काठमाडौँको दशरथ रंगशालामा हुने खेलमा नेपाल पहिलो जितको प्रयासमा मैदान उत्रिने छ। यसअघि समूहको पहिलो खेलमा यूएईसँग उसकै मैदानमा नेपाल ४–० ले हारेको थियो। यमन पनि पहिलो खेलमा बहराइनसँग २–० ले पराजित भएकाले पहिलो जितको प्रयासमा नै मैदानमा उत्रिने छ।

खेलअघि आयोजित प्रि–म्याच प्रेस कन्फ्रेन्समा मुख्य प्रशिक्षक एनेसले भने,’हामीले यो खेलका लागि राम्रो तयारी गरेका छौँ। हामी यो खेल जित्दै समर्थकलाई आशा दिलाउनका लागि प्रयास गर्नेछौँ। घरेलु मैदानमा हामी अङ्कका लागिनै प्रतिस्पर्धा गर्नेछौँ।’

नेपाली टिमका कप्तान किरणकुमार लिम्बुले अर्को चरण प्रवेशको सम्भावनालाई कायम राख्नका लागि पनि घरेलु मैदानमा जित अनिवार्य रहेको बताए। उनले भने,’हामीले राम्रो तयारी गरेका छौँ। अघिल्लो चरण प्रवेशका लागि समेत यो खेल जित्नु पर्ने भएकाले हामी जितकै लागि मैदानमा उत्रिने छौँ। घरेलु मैदानमा खेल्नका लागि हामी उत्साही छौँ।’

नेपालले यमनसँग ४ खेल खेलेको छ। नेपाल सबै खेलमा जितविहीन रहेको छ। नेपालले २०१७ को जुनमा भएको खेलमा नेपालको घरेलु मैदान सशस्त्र प्रहरी बलको हल्चोकमा भएको खेल गोलरहित बराबरी खेलेको थियो। तर, कतारमा मार्च २०१८ मा भएको खेलमा भने नेपाल कतारमा यमनसँग २–१ ले पराजित भएको थियो।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ३ : २७ बजे