६ आश्विन २०८१, आइतबार | September 22, 2024

हमासको नियन्त्रणमा रहका विपिन जोशीको रिहाइमा सहयोग गरिदिने कतारको आश्वासन



८ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग शुक्रबार सिंहदरबारमा भएको भेटमा उनले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

भेटमा मन्त्री साउदले विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरेका हुन् । जवाफमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले जोशीको रिहाइका लागि यथासक्य पहल गर्ने आश्वासन दिएका छन् ।

यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए । भेटका क्रममा दुई देशको रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्चस्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो ।

 

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ४ : २३ बजे