६ आश्विन २०८१, आइतबार | September 22, 2024

भारतीय संसदमा धुवाँ आक्रमण गर्ने घटनाका मुख्य अभियुक्तले गरे आत्मसमर्पण



भारतीय संसदको कडा सुरक्षा ताेडेर बुधबार धुवाँ आक्रमण गर्ने घटनाका मुख्य अभियुक्त भनिएका ललित झाले आफ्ना एक सहयोगीसहित आत्मसमर्पण गरेका छन् ।

समाचार एजेन्सी पीटीआईले प्रहरी स्रोतलाई उद्धृत गर्दै उनीहरू दुवैले बिहीबार राति नयाँ दिल्लीको ड्युटी प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरेको जनाएको छ ।

आत्मसमर्पण गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर विशेष कक्षमा बुझाएको एक अधिकारीले बताएका छन् । यस विषयमा विशेष कक्षले मात्र अनुसन्धान गरिरहेको छ ।

यस घटनामा हालसम्म सात जना पक्राउ परेका छन् । बुधबार नै पाँच जनालाई पक्राउ गरिएको हो । घटनापछि ललित झा बस चढेर राजस्थानको नागौर गएको प्रहरीले जनाएको छ । त्यहाँ उनले एक होटलमा रात बिताएका थिए ।

धुवाँ आक्रमणका समयमा ललित संसद परिसर बाहिर उपस्थित रहेको बताइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ११ : ०७ बजे