२ आश्विन २०८१, बुधबार | September 19, 2024

भारतबाट ८ बालकको उद्धार



रौतहट : रौतहटका ८ जना बालकलाई भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।

 

जिल्लाको दुर्गाभगवती गाउँपालिका, ईशानाथ र राजपुर लगायतका पालिकामा घर भई लामो समयदेखि भारतको मुम्बईस्थित बालगृहमा रहेका ८ जना बालकलाई उद्धार गरी शनिवार परिवारको जिम्मा लगाइएको हो। जिल्ला प्रहरी कार्यालय गौरमा प्रहरीको रोहवरमा उद्धार गरी अभिभावकको जिम्मा लगाइएका बालकहरू १३ देखि १६ वर्ष उमेर समूहका रहेका छन्।

 

चार महिनादेखि भारतको मुम्बईस्थित बालगृहमा ती बालबालिकालाई राखिएको थियो।

 

विभिन्न बहानामा भारतको मुम्बई पुगेका ती बालकलाई विभिन्न ब्याग फ्याक्ट्रीमा काममा लगाइएको थियो। मुम्बई प्रहरीले ब्याग फ्याक्ट्रीमा छापा मारी गर्दै ती बालकको उद्धार गरेको थियो।

 

उद्धारपछि ती बालकलाई मुम्बईमा रहेको बालगृहमा राखिएको थियो। नेपालका बालकहरू बालगृहमा फसेको सूचना पाएपछि बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरूको संयुक्त प्रयासमा ती बालकलाई परिवारको जिम्मा लगाइएको छ।

 

ग्रामीण विकास केन्द्र नेपाल गौर, सामुदायिक विकास तथा सचेतना नेपाल मकवानपुर, राष्ट्रिय बाल अधिकार परिषद् र जिल्लास्थितका सरकारी निकायहरूको समन्वयमा ती बालकको उद्धार गरिएको हो।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ९ : ०२ बजे