२ आश्विन २०८१, बुधबार | September 18, 2024

एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु



ढल्केवर, पुस ८ गते । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको सबैला नगरपालिका-१२, रघुनाथपुरका ३१ वर्षीय जयनारायण पालको मृत्यु भएको छ । उपचारको क्रममा जनकपुरधामस्थित कृष्ण अस्पतालमा शनिबार राती १ बजे उहाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

वीरेन्द्रबजार-महिनाथपुर सडक मार्गअन्तर्गत सबैला नगरपालिका–९, सिमराढीमा दक्षिणबाट उत्तरतर्फ आइरहेको ज १ त १७४५ नम्बरको एम्बुलेन्सले विपरित दिशाबाट गइरहेको प्रदेश २-००६ प ७९३८ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका पाललाई तत्कालै उपचारका लागि जनकपुरस्थित रामजानकी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि कृष्ण अस्पतालमा लगिएको थियो ।

ठक्कर दिने एम्बुलेन्स र त्यसका चालक महोत्तरीको मटिहान नगरपालिका-१, का वीरेन्द्र मण्डललाई प्रहरी नियन्त्तणमा राखिएको इलाका प्रहरी कार्यालय सबैलाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १२ : १० बजे