२ आश्विन २०८१, बुधबार | September 18, 2024

मन्त्रीको गाडी आगजनी घटना: एक युवकको मृत्यु



भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा एक जना युवकको मृत्यु भएको छ।

बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनीपछि ललितपुरको ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो इपिएस परीक्षार्थीहरू र प्रहरीबीच झडपसमेत भएको थियो।

करिब २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले सेतोपाटीलाई बताए।

राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।

राउतको छातीमा निलडाम देखिएको चिफ अपरेटिङ अफिसर पाठकले बताए। राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो।

अस्पताल पुर्‍याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  २ : ३१ बजे