१ आश्विन २०८१, मंगलबार | September 17, 2024

युवा विश्वकपमा नेपालको सुपर सिक्स यात्रा ‘सपना पूरा भयो’



काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई हराउँदै शुक्रबार नेपालले प्रतियोगिताको सुपर सिक्समा स्थान पक्का गर्‍यो ।

अन्तिम खेलमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई अन्तिम ६ रन आवश्यक हुँदा हातमा दुई विकेट मात्र बाँकी थियो । अफगानिस्तानविरुद्ध कप्तानी इनिङ खेलेको देव खनाल जित्नैपर्ने खेलमा डगआउटभन्दा छुट्टै घुँडा टेकेर बसेका थिए । घुँडा भुइमा हुँदा उनको हात भने टाउकोमा थियो । उनी टिमको जितका लागि प्राथना गर्दै थिए ।

“हामीले पछिल्लो केही महिनायता निक्कै मेहनत गरिरहेका छौँ भन्ने कुरामा प्रार्थना गरिरहेको थिए । हामीले पछिल्लो दुई महिनायता परिवारसँग भेट्न पाएका छैनौँ र यहाँ आएका सबैले कठिन मेहनत गरेका छन्,” अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग कप्तान देवले भने ।

टिमलाई जितसम्म डोहोर्‍याउन संयमित ब्याटिङ गरेका देवले ८९ बलमा ५८ रनको अर्धशतकीय इनिङ खेले । अफगानी बलर अल्लाह मोहम्मद घाजान्फरको बलमा देव आउट हुँदा नेपाललाई जितका निम्ति अझै १८ रनको आवश्यकता थियो ।

त्यसबेला नेपालसँग अझै तीन विकेट बाँकी थियो । तर, अफगानिस्तानका फारिदुन डाउदजाईले दुई ओभरमा सेट ब्याटर दीपक बोहरा (२७ रन) र आकाश चन्द (एक रन) लाई पभेलियनको दिशा देखाएपछि नेपाल नौ विकेट गुमाउँदै दबाबमा आएको थियो ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ४ : ०३ बजे