१ आश्विन २०८१, मंगलबार | September 18, 2024

भोलिदेखि सञ्चालनमा आउँदै बन्दीपुर केबलकार



दमौली– तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार भोलि जेठ ३१ गते बिहीवारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ ।

वैशाख १ गते विधिवत् रूपमा शुभमुहूर्त तथा वास्तु पूजा गरी आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार बिहीवारदेखि कमर्शियल अपरेसनमा ल्याइने भएको हो ।

कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिएका छन् । टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको हो ।

करिव एक वर्षअघि नै केबलकारको सम्पूर्ण मेकानिकल सामाग्रीहरूको जडान गरी लोड परीक्षण भइरहेको थियो । तीन चरणमा परिक्षण काल सकिएपछि कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएको शर्माले जानकारी दिए ।

लोड परीक्षण तथा केबलकार अपग्रेड गरी सम्पूर्ण हिसाबले सुरक्षाको प्रत्याभूति गराएपछि अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र, ९टि।यु।भी सर्टिफिकेट० प्राप्त भएको शर्माले जानकारी दिए । शर्माले भने– ‘कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी पुरा गरी पूर्ण सुरक्षित वातावरण बनेपछि मात्र सर्वसाधारणका लागि केबलकार सञ्चालन गर्न लागेका हौँ ।’

केबलकारमा सवार गरी बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिर दर्शन गर्न सकिने छ । उक्त मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला गर्ने तयारी भइरहेको छ । यसअघि वर्षको एक दिन महाअष्टमीका दिनमात्र सर्वसाधारणका लागि खुल्ला हुने उक्त मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले जनाएको छ ।

भुईँ छोडेर मात्र उक्त मन्दिर दर्शन गर्नुपर्छ भन्ने मान्यता बन्दीपुर केबलकारमार्फत पुरा हुने भएको छ ।

केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान आरोहण गरे झैँ साहसिक अनुभूति लिन सकिने बताइएको छ । केबलकार चोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गर्न सकिने छ ।

यसअघि नै केबलकारको बटम स्टेसनमा अत्याधुनिक सुविधासहितको रेस्टुराँ ‘ड्राइभ इन’ सञ्चालनमा आइसकेको छ । विदेशी तथा स्वदेशी पर्यटकहरूलाई अन्तर्राष्ट्रिय स्तरको ९पाँच तारे० सरहको सुविधा प्रदान गर्ने उद्देश्यले वैशाख १ गतेदेखि नै ‘ड्राइभ इन सञ्चालनमा आएको हो ।

त्यस्तै बटम स्टेसनमा जङ्गली म्युजियम, चिल्ड्रन जोन, ३३ कोटी देवीदेवताका मूर्तिसहितको आकर्षक पार्क सञ्चालनमा आएको छ । पार्कमा जिप लाइन, स्काइ साइक्लिङ लगायतका साहसिक खेलको पनि अनुभव लिन पाइने छ ।

बन्दीपुर हिलको कुल लागत ६ सय २९ करोड रुपैयाँमध्ये हालसम्म ४ सय ३३ करोड रुपैयाँको काम सम्पन्न भएको अध्यक्ष शर्माले जानकारी दिए । समग्र बन्दीपुरहिल गुरुयोजना अनुसारका सबै संरचना आगामी २ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । निर्माणाधीन १७ तले कुइन टावर नामको पाँच तारे होटेल आगामी ५ महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

त्यस्तै २ वर्षभित्र स्काइ वाक, ८५ मिटर लामो क्यान्टी लिभर ग्लास वाक थ्रु, संसारकै अग्लो दावी गरिएको २ सय ९३ मिटर अग्लो बन्जी जम्प, सेभेन आकारको २८ सय मिटर लामो जिप लाइन, बन्दीपुरदेखि सिद्ध गुफासम्मको चियर लिफ्ट केबलकार लगायतका संरचना सम्पन्न हुने कम्पनीले जनाएको छ ।

केबलकारको ३१ गोण्डला मध्ये २१ वटा यात्रु बोक्ने गोण्डला रहेका छन् । प्रति घण्टा ५ सय जना यात्री बोक्न सक्ने क्षमता रहेको उक्त केबलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ बजे देखि राति ११ बजेसम्म चल्नेछ ।

केबलकारले साँझ ५ बजेदेखि राति ११ बजेसम्म ६ वटा रेस्ट्रो क्याबिन रेस्टुरेन्ट एवं आराम कक्ष समेत सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारीसमेत छ । तर केबलकारको उक्त सेवा लिन भने एक वर्षसम्मको समय लाग्ने छ । बाँकी दुई वटा पारदर्शी एडभेन्चर गोण्डला हुने छन् भने २ वटा ढुवानीका लागि प्रयोग गरिने छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ६ : ३९ बजे