६ आश्विन २०८१, आइतबार | September 22, 2024

विश्वकै दोस्रो प्रदूषित शहर बन्यो काठमाडौं



काठमाडौँ उपत्यकामा पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको पाइएको छ । यो क्रम बढेर बुधवार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको यूरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले देखाएको छ ।  अत्यधिक वायु प्रदूषण जनस्वास्थ्यका लागि घातक हुन्छ।

आईक्यूएयरका अनुसार बुधवार १४:३४ बजे काठमाडौँको वायु प्रदूषणको मात्रा १७० यूएस आईक्यूआई छ । 

अन्तर्राष्ट्रिय रूपमा वायु प्रदूषणको मात्रा नाप्ने इन्डेक्स अक्वा १५० देखि २०० सम्म रहेको अवस्थालाई जनस्वास्थ्यमा प्रभाव पार्ने हिसाबले अस्वस्थकर मानिएको छ। यसलाई रातो रङ दिइएको छ। शून्य देखि ५०० सम्मको प्रदूषणको स्तरलाई ६ तहमा बाँड्दा रातो रङ खतराको हिसाबले चौथोमा पर्छ। त्यस्तै २०० देखि ३०० अंकसम्मलाई बैजनी रङ दिइन्छ। यो खतराको हिसाबले पाँचौं तह हो। यसलाई अत्यन्त अस्वस्थकर मानिन्छ। ३०० अंक नाघेपछि खैरो रङ दिइन्छ।

अक्वा मापन गर्दा पिएम २.५, पिएम १०, सतही ओजनको अवस्था, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड जस्ता प्रदूषणका कारक तत्वहरू हेरिन्छ। प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यास भएका सूक्ष्म कणहरूलाई पिएम २.५ का रूपमा मापन गरिन्छ। प्रतिघनमिटर वायुमा १० माइक्रोमिटर व्यास भएका कणलाई पिएम १० को रूपमा नापिन्छ।

कचौरा आकारको भूगोल र वरिपरिका अग्ला डाँडा भएका कारण काठमाडौं उपत्यकामा सिर्जना हुने प्रदूषण वायुमण्डलमा सजिलै छरिन पाउँदैन। विज्ञले राजधानीको वायु प्रदूषण नियन्त्रणका लागि बनाइएका कानुन र मापदण्ड कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिँदै आएका छन्।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ८ : ५८ बजे