१ आश्विन २०८१, मंगलबार | September 18, 2024

साङ्लोले बाँधेर राखिएका युवकको उद्धार



उदयपुर, ५ चैत

उदयपुरमा छ वर्षदेखि साङ्लोले बाँधेर राखिएका युवकको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएका त्रियुगा नगरपालिका–६ लालपत्ताका २१ वर्षीय रामबहादुर परियारको उद्धार गरिएको हो । त्रियुगा नगरपालिकाको पहलमा उनको उद्धार गरिएको नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले जानकारी दिनुभयो । रामबहादुरलाई लालपत्तास्थित उनकी दिदी हस्तमायाको घरबाट उद्धार गरी मानव सेवा आश्रम हेटौँडा पठाइएको छ । त्रियुगा–६ का वडाध्यक्ष योगेन्द्र दाहालका अनुसार रामबहादुरको उपचारमा लाग्ने सबै नगरपालिकाले बेहोर्ने छ । विसं २०७४ देखि रामबहादुरले मानसिक सन्तुलन गुमाएका थिए । उनका बुबाको २०७५ सालमै निधन भएको थियो । त्यसपछि रामबहादुरलाई दिदी हस्तमायाको घरमा साङ्लोले बाँधेर राखिएको वडाध्यक्ष दाहालले बताउनुभयो । रासस

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ९ : ५१ बजे