५ आश्विन २०८१, शनिबार | September 21, 2024

बालगृहहरूमा महानगरको अनुगमन, मापदण्ड पुर्याउन निर्देशन



चैत्र-१०

भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाहरूको अनुगमन गरेको छ । महानगरका उपप्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा अनुगमनमा गएको टोलीले सञ्चालनमा रहेका तर अनुमति नपाएका विभिन्न बालगृह तथा अनुसन्धान संस्थाको स्थलगत अनुगमन गरेको हो ।    
    
भरतपुर–८ मा रहेको एसओएस बालग्राम नेपाल भरतपुर–१२ मा रहेको मुक्ति बालगृह तथा ज्योति बालगृह र भरतपुर–१५ फूलबारीमा रहेकोे सामाजिक तथा वातावरणीय अनुसन्धान संस्था नेपालको स्थलगत अनुगमन गरिएको उपप्रमुख अधिकारीले बताउनुभयो । उहाँले बालगृह सञ्चालकलाई मापदण्ड पु¥याएरमात्रै बालगृह सञ्चालन गर्न निर्देशन दिइएको जानकारी गराउनुभयो । “कुनै पनि बालगृह बिनामापदण्ड सञ्चालन गरेको पाइएमा महानगरले कारबाही गर्न पछाडि पर्दैन”, उहाँले भन्नुभयो, “समयमै सुध्रिएर आउन पनि म सबैमा आग्रह गर्छु ।”    
    
कुनै पनि समय संस्थाको अनुगमनमा आफूहरू आउन सक्ने भन्दै उहाँले त्यतिबेला मापदण्डअनुसार सञ्चालन गरेको नपाइए कडा कारबाही हुने बताउनुभयो । बालगृह सञ्चालन गर्न भौतिक संरचना, खानपान, सरसफाइ, खेलमैदान, स्वास्थ्य परीक्षणलगायतका मापदण्ड पूरा गरेको हुनुपर्छ । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले सञ्चालनमा रहेका सबै बालगृहमा निरन्तर अनुगमनको खाँचो रहेको प्रष्ट पार्नुभयो । “हामीले बालगृहहरूको निरन्तर अनुगमन गरिरहेका छौँ, छड्के अनुगमन गर्दा कमी–कमजोरी पाइएमा कामकारबाही हुन्छ”, अधिकृत रानाले भन्नुभयो ।    
    
स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले महानगरभित्र अहिले २३ वटा बालगृह सञ्चालनमा रहेको बताउनुभयो । पौडेलका अनुसार २३ वटा बालगृहमा संरक्षित बालबालिकाको सङ्ख्या छ सय ७८ रहेको छ ।    
    
राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार काठमाडौँपछि भरतपुरमा सबैभन्दा बढी बालगृह सञ्चालनमा छन् । परिषद्का सदस्यसचिव इन्द्रादेवी ढकालले चितवनका बालगृह उत्कृष्ट श्रेणीमा पर्ने गरेको बताउनुभयो । चितवनमा केन्द्रको निरन्तर निगरानी भइरहेको भन्दै उहाँले सङ्घीय र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले बालगृहको अनुगमन तथा रेखदेख गरिरहेको जानकारी दिनुभयो । यसअघि गत असारमा भरतपुर महानगरपालिकाले पश्चिम चितवनका विभिन्न बालगृहको अनुगमन तथा निरीक्षण गरेको थियो ।–––  

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ७ : ५९ बजे