१ आश्विन २०८१, मंगलबार | September 17, 2024

बागमती प्रदेशका चार मन्त्रीद्वारा राजीनामा



बागमती प्रदेश सरकारका चार जना मन्त्रीले आज राजीनामा दिएका छन् । प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गर्नुभयो ।    
    
नेकपा(एमाले)बाट श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल हुनुहुन्छ ।    
    
प्रदेशसभामा बोल्दै नेता थपलियाले निर्वाचनपश्चात पाँचदलीय चुनावी गठबन्धन, सरकार गठन गर्न असफल रही सरकार गठनमा अन्योल सिर्जना भएको तत्कालीन अवस्थामा एमालेले बागमती प्रदेशमा मुख्यमन्त्री शालिकाराम जम्कट्टेलको नेतृत्वमा सरकार बनाउन अभिभावकीय र नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो ।    
    
उहाँले हाल राष्ट्रियरूपमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम र माओवादी केन्द्र अर्को फरक राजनीतिक गठबन्धन बनाउने दिशातर्फ उन्मुख भएको अवस्थामा जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी भइरहन नसकिने अवस्थाका कारण आजैका मितिदेखि लागू हुनेगरी संयुक्त राजीनामा दिएको घोषणा गर्नुभयो ।    
    
यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिनका लागि आह्वान बैठक हाल जारी छ ।    

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ९ : ४३ बजे