८ आश्विन २०८१, मंगलबार | September 24, 2024

अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न सांसदको माग



चैत्र-२३

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले विमानस्थलमा देखिएको बेथिति र लापरबाहीका कारण एक निर्दोष नेपालीले कतारको जेलमा बन्दीजीवन बिताइरहनुपरेको बताउनुभयो ।    
    
 सांसद ढकालका अनुसार गत वैशाखमा वैदेशिक रोजगारीका लागि कतार जान लागेका एक नेपालीको झोलामा कसैले झुक्याएर लागुऔषध राखिँदिँदा कतारको विमानस्थलमा पक्राउ परेका उनलाई १० वर्ष कैद र तीन लाख जरिवाना तोकिएको छ । उहाँले सभामुखमार्फत गृहमन्त्रीलाई प्रश्न गर्नुभयो, “उनीजस्ता निर्दोष नेपाली कतारको जेलमा अरु कति छन् र उनीहरुको अवस्था के छ ?”    
    
 सांसद ढकालले वैदेशिक रोजगारीमा गएका एकजनाको शव ल्याउँदा शवको बाकससमेत भन्सारमा फोरिएको र यसले विमानस्थलमा हुनेगरेका बेथितिलाई प्रष्ट्याउँछ भन्दै विमानस्थलमा बारम्बार हुने यस्ता घटना न्यूनीकरणमा सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।    
 नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भरतपुर क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक र उपनिर्देशकको मिलेमतोमा क्यान्सर उपचारका लागि उपकरण खरिद गर्ने रकम तलब भत्तामै खर्च भैसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।    
 राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले दिनप्रतिदिन विदेशी ऋणभार बढेपनि मुलुकको आर्थिक विकासले गति लिन नसकेको बताउनुभयो ।    
–––  

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ४ : १४ बजे