८ आश्विन २०८१, मंगलबार | September 25, 2024

निकुञ्जमा दुई गैँडा मृत भेटिए



नवलपुर, २९ चैत:   

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् ।    
    
निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा एउटा र निकुञ्जको बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको काँस घारीमा अर्को गैँडा मृत फेला परेको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले अमलटारी क्षेत्रमा करिब सात महिनाको पोथी गैँडा मृत भेटिएको बताउनुभयो ।    
    
त्यसैगरी माडीको रिउ खोलामा किनारमा करिब छ महिनाको भाले गैँडा मृत भएको उहाँको भनाइ छ । भाले गैँडाको मृत्यु बाघको आक्रमणबाट भएको तिवारीले जानकारी दिनुभयो । मृतावस्थामा भेटिएका दुवै गैँडाको खाग नपलाएको तिवारीको भनाइ छ । निकुञ्जमा मृत भेटिएका दुई गैँडासँगै चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म १६ वटा गैँडाको मृत्यु भएको तिवारीले जानकारी दिनुभयो । यस वर्ष मृत भेटिएका गैँडामध्ये दुई वटा गैँडा चोरी शिकारीका कारण मरेका हुन् ।    

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : ५९ बजे