८ आश्विन २०८१, मंगलबार | September 25, 2024

सियारीका २५० घरधुरी जग्गाधनी पुर्जा वितरण 



चैत्र,३०    
रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लक अन्तर्गतका दुई सय ५० घरधुरीलाई आज जग्गाधनी पुर्जा वितरण गरेको छ ।

नापी कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले वडा न। २, ४ र ५ का २ सय ५० घरधुरीलाई पुर्जा वितरण गरिएको पालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो । उहाँले लामो समयको पहल र मेहनतपछि सियारीवासीले पुर्जा प्राप्त गरेको बताउनुभयो ।    
    
 विस २०२५ सालमा नापीमा छुटेका तर शुरु नापी हुदाँदेखि नै जोगभोग गरे पनि पुर्जा नपाएका नागरिकलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।    
    
 रुपन्देहीमा एक हजार आठ सय गाउँँ ब्लकको नापी भएकामध्ये एक हजार एक सय ५० गाउँ ब्लकको पुर्जा वितरण गर्न बाँकी रहेको नापी कार्यालयका प्रमुख सुग्रिव यादवले जानकारी दिनुभयो । उहाँले सियारीमा एक सय १५ गाउँ ब्लकमध्ये अब ३५ बटा ब्लकको मात्र वितरण गर्न बाँकी रहेको बताउनु भयो ।    
    
 गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले पुर्जा वितरण गर्न बाँकी रहेकाको पनि छिट्टै नै वितरण गर्नेगरी काम अगाडि बढाइएको जानकारी दिनुभयो ।रासस   

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ४ : २८ बजे