१३ आश्विन २०८१, आइतबार | September 30, 2024

भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा



बैशाख-०७

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् ।    
    
नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु सम्पर्कमा आएका र उनीहरुले रु पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन् ।    
    
कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि बुधबार काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । उक्त ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरी परिसरमा बुझाइसकेको छ ।    
    
उनीहरुको मिलेमतोमा २०७७ सालदेखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर प्रलोभन र विश्वासमा पारी कास्की, दाङ, मोरङ, रुकुमलगायतका जिल्लाका नागरिकलाई करोडौँ रकम ठगेका पाइएको प्रहरीले जनाएको छ । यसरी ठगीमा ८१ जना परेका छन् । अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान छ । पीडितहरुले फारम भर्न मात्रै १५ देखि २० लाख तिरेको तथ्य प्रहरीले फेला पारेको थियो ।    
–––  

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ११ : ४७ बजे