१३ आश्विन २०८१, आइतबार | September 30, 2024

कांग्रेसबाटै पहिचान बनाएकाले कांग्रेसलाई बिर्से : महामन्त्री शर्मा



बैशाख-०७

विर्तामोड नगरपालिकाले वडा नं ५ स्थित बुधबारे हटियामा बहुतले आधुनिक व्यापारिक भवन बनाउन त्यहाँ रहेका सबै घर टहरा हटाउने भएको छ ।    
    
 देवीहाटका नामले परिचित २१ कट्ठा क्षेत्रफलको सो स्थानमा विसं २०७२ यता निर्मित ७२ अस्थायी संरचनामा साना व्यवसाय सञ्चालन भइरहेको छ भने जग्गा अतिक्रमण गरेर थप एक सय टहरा बनेको पाइएको नगरपालिकाले जनाएको छ ।    
    
 प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेका अनुसार नगरपालिकाले अस्थायी संरचना हटाएर सो स्थानमा आधुनिक बहुतले व्यापारिक भवन बनाउने महत्वाकाङ्क्षी विकास योजना अघि बढाएको छ । पूर्वी नेपालकै प्रमुख व्यापारिक केन्द्रका रुपमा उदीयमान विर्तामोडको केन्द्रभागमा रहेको सो स्थानमा सुविधासम्पन्न व्यापारिक भवनको खाँचो रहेको उहाँले बताउनुभयो ।    
    
 नगरपालिकाले यही वैशाख ४ गते तेस्रोपटक सार्वजनिक सूचना प्रकाशित गरेर १० दिनभित्र त्यहाँका सम्पूर्ण घरटहरा खाली गर्न सम्बन्धित व्यवसायीलाई अनुरोध गरेको छ । दिइएको म्यादभित्र नहटाइएमा नगरपालिका आफैँले बल प्रयोग गरेर कानुनबमोजिम बुधबारे हटिया खाली गराउने नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।    
    
 “घरटहरा हटाएर बुधबारे हटिया खाली गरिदिन पटकपटक सूचना जारी गरिसकेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो, “अन्यथा कानुनबमोजिम सम्पूर्ण घरटहरा हटाउनेछौँ र त्यसमा लागेको खर्चसमेत सम्बन्धित व्यक्तिबाटै असुल्नेछौँ”, उहाँले कानुनबमोजिम हटाउँदा सम्बन्धित व्यक्तिको कुनै धनमालमा क्षति हुन गएमा मालधनी आफैँ जवाफदेही हुनुपर्ने बताउनुभयो ।    
    
 दानवीर देवीप्रसाद प्रसार्इंको नाममा रहेको सो जग्गा नगरपालिकालाई दानमा प्राप्त भएको अचल सम्पत्ति हो । हाल सो बजारलाई ‘देवीहाट’ भन्ने गरिन्छ । नगरपालिकाले बनाउन लागेको बहुतले व्यापारिक भवनको नाम पनि ‘देवी भवन’ नै राखिएको छ ।    
    
 नगरपालिकाले आगामी ५० वर्षसम्मको आवश्यकतालाई दृष्टिगत गरेर आधुनिक व्यापारिक भवन बनाउने योजना अघि सारेको हो । डिपिआरको प्रक्रियामा रहेको सो आधुनिक भवन चार तलाभन्दा अग्लो हुने र भूमिगत दुईतलालाई सुविधायुक्त गाडी पार्किङस्थल बनाइने भनिएको छ ।    
    
 नेपाल सरकारको नगर विकास कोषबाट रु एक अर्ब सहुलियत कर्जा तथा अनुदान लिएर विर्तामोड नगरपालिकाले बहुतले व्यापारिक भवनको योजना अघि बढाएको हो ।    
    
 नगरको कार्यपालिकाबाट नयाँ भवन बनाउने र नगर विकास कोषबाट कर्जा लिनेसम्बन्धी निर्णय भइसकेको छ । तर अस्थायी घरटहरा बनाएर गुजारा चलाइरहेका स्थानीयवासीले भने नगरपालिकाले जबर्जस्ती हटाउन खोजेको भन्दै असहमति जनाएका छन् ।    
    
 उनीहरु बहुतले भवनमा ठूला व्यापारी आउने र आफूहरुले व्यवसायबाट हात धुनुपर्ने अवस्था आउने भन्दै नगरको योजनाप्रति असन्तुष्टि प्रकट गरिरहेका छन् ।    
    
 राष्ट्रिय प्रजातन्त्र पार्टी विर्तामोड नगर समितिकी अध्यक्ष रञ्जु प्याकुरेलले हाल व्यवसाय गरिरहेकासँग सहमति नगरी सो स्थान खाली गराउने नहुने बताउनुभयो । सर्वदलीय बैठकमार्फत नगरपालिका नेतृत्वलाई व्यवसायीलाई अन्यत्र उचित व्यवस्थापन नगरी नहटाउन र कर्जाको साटो अनुदानमा व्यापारिक भवन बनाउन सुझाव दिइएको राप्रपा नगर अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो ।    
    
 विर्तामोड उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले डोजर लगाएर व्यवसायीलाई उठिबास नलगाउन आग्रह गर्नुभयो । नगरपालिका अभिभावक संस्था भएकाले वर्षौंदेखि त्यस ठाउँमा राज्यलाई कर तिरेर जीविका चलाइरहेका साना व्यवसायीलाई हटाउनुभन्दा पहिले उनीहरुका लागि व्यवसाय गर्ने वैकल्पिक स्थान उपलब्ध गराइनुपर्ने उहाँको सुझाव छ ।    
–––  

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ३ : ४३ बजे