१३ आश्विन २०८१, आइतबार | September 29, 2024

पालिकालाई वडाध्यक्षहरुको छाप र कलम   



चितवन, बैशाख १५
कालीकोटको खाँडाचक्र नगरपालिकाका वडा अध्यक्षहरुले काम प्रभावकारी नभएको भन्दै वडाको छाप र रातो कलम नगरपालिकाका उपप्रमुखलाई बुझाउनुभएको छ ।

असार मसान्त आउनै लाग्दा नगरपालिकाको काम प्रभावकारी नभएको भन्दै ११ वटै वडाका अध्यक्षले छाप र रातो कलम नगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक गणेशबहादुर शाहीलाई बुझाउनुभएको हो ।

असार मसान्त आउनै लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृत नभेटिने, सेवाग्राहीले सेवा पाउन नसकेको, दैनिक काम सुरु नभएकोलगायतका समस्या समाधान गर्न न्यायिक समिति संयोजक एवं नगरउपप्रमुख शाहीलाई सम्बोधन गर्दै समस्या समाधानका लागि वडा कार्यालयको छाप र रातो कलम बुझाएको वडा नंं २ का वडाध्यक्ष वविन्द्र शाहीले बताउनुभयो ।

“बारम्बार समस्या समाधानका लागि पहल गर्न नगरप्रमुखलाई भनेका थियौँ । अहिलेसम्म हामी वडाध्यक्षहरुको कुनै पनि माग सुनुवाइ भएन”, उहाँले भन्नुभयो, “हामीले जनताको पक्षमा काम छिटो गरौँ भन्दा पनि काम सुरु हुन नसकेको अवस्था आयो ।”

वडा नं ९ का वडाध्यक्ष विरिजित विष्टले हाल मेयर कमलबहादुर शाही बाहिर हुनुभएकाले उहाँ आइसकेपछि शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत बस्ने तय भएको जानकारी दिनुभयो । “छलफलपछि समस्या समाधान हुने अपेक्षामा हामी छौँ”, उहाँले भन्नुभयो, “अहिले वडाका सबै काम रोकेका छौँ ।”

नगरप्रमुख कमलबहादुर शाहीले बारम्बार प्रयास गर्दा पनि प्रमुख प्रशासकीय अधिकृत नआइपुगेको बताउनुभयो । “अहिले काम चलाउनका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत राखेका छौँ । लेखा अधिकृत पनि हुनुहुन्न”, उहाँले भन्नुभयो, “समस्या समधानमा लागि पहल थालिएको छ । नागरिकलाई सास्ती हुने कुनै काम गर्दैनौँ ।”

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १ : २८ बजे