६ आश्विन २०८१, आइतबार | September 22, 2024

उद्योगीका समस्या समाधान हुन्छ मन्त्री रिजाल   



बैशाख,२२

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले रुग्ण उद्योग व्यवसायलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले काम गरिराखेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “उद्योगी व्यवसायी आत्तिनुपर्ने अवस्था होइन । अहिलेको समस्या समाधान हुन्छ ।” उद्योगीको समस्या समाधानका लागि सरकारले बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेको उहाँले बताउनुभयो । कानुनले समाधान गर्ने विषय कानुनबाट समाधान हुने बताउँदै उहाँले भन्नुभयो, “उद्योगधन्दा बन्द भएर बैंकमा पुग्ने अवस्था नहोस् भन्नका लागि सरकारले सोचेको छ ।” सकारले उद्योगीको हितमा काम गर्ने उहाँले बताउनुभयो ।

आर्थिक तरलताका कारण समस्या देखिएको बताउँदै उहाँले यो तरलता कोभिड–१९ सङ्क्रमण, युक्रेन र रसियाको युद्धका कारण बढी भएको बताउनुभयो । उद्योगीहरूको समस्या समाधानका लागि राष्ट्र बैंकका गभर्नरसँग छलफल भइरहेको बताउँदै उहाँले बैंकको ब्याज घटाउन सरकार लागिपरेको बताउनुभयो । यस्तै सस्तोमा व्यवसायीलाई जग्गा उपलब्ध गराएर उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न सरकारले कार्यक्रम ल्याउन लागेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ३ : १७ बजे