६ आश्विन २०८१, आइतबार | September 22, 2024

झन्डै ५३ अर्ब सवारीसाधन राजस्व घट्यो



यसपालि सवारीसाधनबाट उठ्ने राजस्व ५२ अर्ब ७७ करोड रूपैयाँ कम भएको हो।सरकारले यो वर्ष सवारीसाधनको आयातबाट भन्सार महसुल, भ्याट र अन्तशुल्क (भन्सार राजस्व) २७ अर्ब ९ करोड रूपैयाँ मात्रै उठाएको छ। गत वर्ष ७९ अर्ब ८६ करोड रूपैयाँ उठाएको थियो।

भन्सारबाट उठ्ने राजस्व सरकारको प्रमुख आम्दानीको स्रोत हो। तर यसपालि भन्सारबाट उठ्ने राजस्वमा २३ प्रतिशतको कमी देखिएको छ।

चालु आर्थिक वर्ष साउनदेखि वैशाखसम्म, दस महिनामा भन्सारबाट तीन खर्ब ८ अर्ब रूपैयाँ राजस्व उठेको छ। अघिल्लो वर्ष यही अवधिमा ४ खर्ब ५ अर्ब रूपैयाँ उठेको थियो। गत वर्षको तुलनामा भन्सार राजस्व ९७ अर्ब रूपैयाँले कम छ।

यसपालि राजस्व कम हुनुमा ५३ प्रतिशत योगदान सवारीसाधनबाट उठ्ने राजस्‍वको देखिएको छ। सवारीसाधन कम आयात हुनु र पेट्रोलियम गाडी आयातमा गरिएको कडाइका कारण राजस्व कम भएको हो।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष साउनदेखि वैशाखसम्म ८६ अर्ब ८० करोड बराबरको गाडी आयात भएको थियो। चालु आर्थिक वर्षको यही अवधिमा ४१ अर्ब ४७ करोड रूपैयाँ बराबरको सवारीसाधन आयात भएको छ।

यसपालि सवारीसाधन आयातको रकममा ४५ अर्ब ३३ करोड रूपैयाँ कमी भएको हो।

पोहोर धेरै मात्रामा पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधन भित्रिँदा राजस्व बढेको थियो। यसपालि भने  पेट्रोल-डिजेल गाडी कम भित्रिएको छ। बिजुलीबाट चल्ने धेरै भित्रिए पनि यसमा लाग्ने कर तथा शुल्कहरू पेट्रोल-डिजेलको तुलनामा धेरै कम छ। त्यसैले सवारीसाधन आयातको संख्याभन्दा राजस्वमा बढी कमी देखिएको हो।

भन्सारले आयात हुने सामानहरूलाई ९७ वटा कोड दिएर वर्गीकरण गरेको हुन्छ। यममध्ये ७७ नम्बरको कोड खाली राखिएकाले हाल ९६ वटा वर्गीकरणमा सामान भित्रिँदै आएको छ। चालु आर्थिक वर्षको दस महिनामा ९६ वटामध्ये ३० वटा वर्गीकरणका सामानको आयात बढेको भने ६६ वटाको घटेको छ।

रेल्वे र ट्रामबाहेक सबै किसिमका सवारीसाधन र यसका पाटपुर्जाहरूलाई ८७ नम्बरको कोडमा वर्गीकरण गरिएको छ।

यसपालि उल्लेख्य रूपमा आयात कम हुने अन्य वस्तुहरू पनि छन्। जस्तै औषधिको आयात ३८ प्रतिशत र फलाम तथा स्पातको १८ प्रतिशत कम छ। देशमै औषधिको उत्पादन बढेकाले आयात कम भएको उत्पादहरूको भनाइ छ।

धेरै वस्तुहरूको आयात घट्नुको कारण मागमा आएको कमी भएको नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवाल बताउँछन्।

‘स्टिल-सिमेन्टको कारोबार म संलग छु। गत वर्षको तुलनामा मागमा अत्यन्तै कमी आएको छ। यसको प्रभाव अन्य क्षेत्रमा पनि देखिएको छ,’ अग्रवालले भने।

स्टिल तथा फलामको आयात कम हुँदा ५ अर्ब रूपैयाँ राजस्व घटेको छ। अन्नको आयात पनि २६ प्रतिशत कम छ। गत वर्ष दस महिनामा ६४ अर्ब ७१ करोड रूपैयाँको अन्न आयात भएको थियो। यो वर्ष घटेर ४७ अर्ब २९ करोड रूपैयाँको भित्रिएको छ। अन्नको आयातमा आएको कमीले एक अर्ब २० करोड रूपैयाँ राजस्व घटेको देखिएको छ।

विज्ञहरूले राजस्व प्रशासन चुस्त नभएकाले पनि ठूलो मात्रामा राजस्व घटेको बताएका छन्। खाद्यान्न, तरकारी तथा दलहनमा आएको कमीलाई रहस्यमय रहेको कतिपय व्यापरीहरूको भनाइ छ।

३० प्रकारका वस्तुको आयात भने उल्लेख्य बढेको छ। मलको आयात मात्रै १२२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा १४ अर्ब ३० करोड रूपैयाँको मलको आयात भएकोमा यो वर्ष बढेर ३१ अर्ब ८७ करोडको पुगेको छ।

गत वर्ष १९ करोड ३० किलो मल भित्रिएकामा यसपालि बढेर ३१ करोड ९३ लाख किलो आएको छ। परिमाणका आधारमा आयातमा ३९ प्रतिशले कमी आए पनि मूल्य वृद्धिका कारण रकम १२२ प्रतिशतले बढेको हो।

फलाम र स्पातको आयात घटे पनि फलाम र स्पातबाट बनेका वस्तुहरूको आयात उल्लेख्य बढेको छ। गत वर्ष १९ अर्ब ८९ करोडको यस्ता वस्तु आयात भएकामा यस वर्ष २२ अर्बको भित्रिएको छ। तर यसबाट उठ्ने राजस्व घटेकै छ। गत वर्ष तीन अर्ब ९१ करोड राजस्व उठेकामा यो वर्ष ३ अर्ब ८७ करोड मात्रै छ। आयात बढ्ने तर राजस्व कम हुनुको कारण भन्सार महसुल घटाइनु हो।

कागज वा कागजका वस्तुहरूको आयात २ अर्ब ७६ करोड रूपैयाँले र हतियार, खरखजना तथा त्यसका पाटपुर्जाको आयात २ अर्ब ३६ करोड रूपैयाँले बढेको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : २२ बजे