१२ आश्विन २०८१, शनिबार | September 28, 2024

सांसद पद फेरि धरापमा, रविविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता



जेठ-11
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद बन्न अयोग्य रहेको भन्दै सर्वोच्चमा दायर भएको रिट दरपीठ गर्ने रजिस्ट्रारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको छ ।

यो मुद्दाको पेसी आगामी १७ गतेका लागि तोकिएको सर्वोच्चले बताएको छ । सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले रविको सांसद योग्यतासम्बन्धि रिटमा संवैधानिक र कानूनी प्रश्न निरुपन गर्नुपर्ने भन्दै दरपीठ बदर गरिदएका हुन् ।

युवराज पौडेल सफलले रवि गत वैशाख १० को चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

गत वैशाख २५ मा पेस भएको रिटलाई सर्वोच्चका रजिस्ट्रारले २८ गते दरपीठ गरिदिएका थिए । रजिस्ट्रारको दरपीठ गर्ने निर्णयविरुद्ध पौडेलले इजलासमा निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि आदेश दिँदै सर्वोच्चले भनेको छ, ’निवेदनमा उठाएको विषयवस्तुको प्रकृति हेर्दा इजलासबाटै व्याख्या भई निरुपण हुनुपर्ने संवैधानिक र कानुनी प्रश्न निहीत रहेको देखिँदा यस अदालतको रजिस्ट्रारबाट मिति २०८०\०१\२८ मा भएको दरपीठ आदेश बदर गरिदिएको छ ।’

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ९ : ३६ बजे