१२ आश्विन २०८१, शनिबार | September 28, 2024

राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो रेशम चौधरीलाई माफी दिने प्रस्ताव गृह मन्त्रालयमा



जेठ-१२

राष्ट्रपति कार्यालयले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाइदिएको छ।

राष्ट्रपति कार्यालयले रेशम चौधरीबारे गृहमा पठाएको निवेदनमा दुई मुख्य समेटिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम हुने गरी गर्न भनेर गृहमा फिर्ता पठाइएको बताए।

यसैगरी उनका अनुसार पीडितको तर्फबाट परेको निवेदन पनि आवश्यक कार्यार्थका लागि गृहमा फिर्ता गरिएको हो।

 

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा आठ जना प्रहरी र एकजना दूधे बालकको ज्यान गएको थियो।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए। गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएको थियो।

रेशम चौधरी निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्नेलगायत मुद्दा लिएर गठन भएको नागरिक उन्मुक्ति पार्टीले संसदमा ४ सिट जितेको छ। पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन्। उनी रेशम चौधरीकी श्रीमती हुन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ४ : ५५ बजे