११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

शंकर कँडेल मृत्यु प्रकरण : रावल र रुङ्गटालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश



अदालतले पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणका दुई जना आरोपीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको एकल इजलासले आरोपीहरू प्रदीप रुङ्गटा र जीवन रावललाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

रावल प्रहरी हिरासतमा छन् भने रुङ्गटा फरार छन् । मानसिक यातनाका कारण कँडेलले आत्महत्या गरेको भन्दै भाइ राजन कँडेलले आत्महत्या दुरूत्साहन मुद्दामा उजुरी दिएका थिए ।

परिवारका तर्फबाट कँडेलले आत्महत्या गर्नुको कारण कम्पनीको ८५ प्रतिशत सेयर खरीद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावलविरुद्ध किटानी जाहेरी परेको थियो।

भरतपुर महानगरपालिका वडा नं. ३, बेलचोकस्थित आफ्नै कार्यालयमा वैशाख २० गते मंगलबार साँझ कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । त्यहीँ उनको सुसाइड नोटसमेत फेला परेको थियो ।

मृतक शङ्कर कँडेल मङ्गलवार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर रुङ्टालाई बेचेका थिए ।

१९ वैशाखमा कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिमा आर्थिक संकट देखिएपछि केही सेयर बाँकी राखेर ८५ प्रतिशत सेयर प्रदीप रुङ्टालाई बेचेका थिए । सेयर विक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान सुरु गरिएको कार्कीले जानकारी दिए । कँडेल जिल्लाका लोकप्रिय पात्र थिए । ५२ वर्षीय कँडेल भरतपुर महानगरपालिका–८ निवासी हुन् । अर्थ डबली

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ९ : ०० बजे