१२ आश्विन २०८१, शनिबार | September 28, 2024

नियमविपरित घरजग्गामा लगानी गर्ने सहकारीलाई कारबाहीगर्ने विभागको चेतावनी



जेठ-२५

सहकारी क्षेत्रमा समस्या आएसँगै नियामक र अभियन्ता आमनेसामने भएका छन् । ऐन विपरीत वित्तीय गतिविधि सञ्चालन गरेकै कारण सहकारीमा समस्या आएको जनाउँदै नियामक सहकारी विभागले त्यस्तो गतिविधिमा संलग्न जुन कुनै संस्थालाई कारबाही गरिछाड्ने चेतावनी दिएको हो ।

बुधबार राजधानीमा नेपाल सहकारी पत्रकार समाज (सीजेएन) ले आयोजना गरेको ‘सहकारीमा विद्यमान समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले ऐन विपरीत घरजग्गामा लगानी गर्ने संस्थालाई कारबाही गरिछाड्ने उद्घोष गरे । ‘अहिलेको समस्याको मुख्य जड नै सहकारी संस्थाहरूले अवैध रूपमा घरजग्गामा गरेको लगानी हो । आफ्नो क्षमताभन्दा ठुलो वित्तीय कारोबार नै हो,’ ऐनले नदिएपछि कसरी सहकारी संघ संस्थाहरूले घरजग्गामा लगानी गरिरहेका छन् भन्ने खास उदाहरण समेत पेश गर्दै रजिष्ट्रार घिमिरेले भने, ‘पहिला समस्या सल्टाउन त दिऊँ, त्यसपछि सहकारी संस्थालाई कारबाही हुन्छ ।’

ऐनले नदिएपछि सहकारी संस्थाहरूले व्यक्ति प्रयोग गरेर घरजग्गा खरिद गर्ने र लगानी दिने गरेको आफूले प्रमाण पाएको रजिष्ट्रार घिमिरेले दाबी गरे । यस्ता संस्थाले सोही व्यक्तिको घरजग्गा पुनः धितो राखेर कर्जा लगानी गर्ने, धितो सकार्ने गरेको आफूले पत्ता लगाएको समेत खुलासा गरे ।

सहकारी क्षेत्रका अभियन्ता एवम् छाता संगठन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल सहकारीको बचाऊ गर्दै घरजग्गामा लगानी गरेकै कारणले मात्र सबै सहकारी संघ संस्थाहरू समस्यामा नपरेको तर्क गर्छन् । कोभिड–१९ पछि आएको विश्व आर्थिक मन्दीका साथै रुस र युक्रेनबीचको युद्धको परिणाम समेत रहेको उनको भनाइ छ ।

‘सबै सहकारीहरू खराब छैनन्, धेरै राम्रा कामहरू पनि गरेका छन् । ७४ लाख सदस्य आबद्ध सहकारीहरूले आर्थिक, सामाजिकसँगै रोजगारीमा समेत ठुलो सहयोग पुर्‍याएको छ । विश्व आर्थिक मन्दीको कारण नेपाल समेत अछुतो रहन नसक्दा यसको समस्या सहकारीमा समेत देखिन गएको हो,’ अध्यक्ष कँडेलले भने, ‘तर यो धेरै समय जाँदैन । सहकारीको फल डाउन सकियो अब छिट्टै रिकभरी हुन्छ ।’

यता तरलताको समस्यामा फसेका सहकारी संघ संस्थाहरू अहिले एकाएक बन्द गर्दै सञ्चालकहरू फरार भइरहेका छन् । लाखौँ रुपैयाँ बचत गरेका बचतकर्ता सदस्यलाई दैनिक ५–१० हजार रुपैयाँ पनि फिर्ता गर्न सकिरहेका छैनन् । आजभोलि दिनहुँ जसो बचत फिर्ता नभएको, सहकारी संस्थाले ठगेर भागेको जस्ता उजुरी लिएर बचतकर्ता (सहकारी सदस्यहरू) विभाग, स्थानीय पालिका तथा प्रहरीकोमा उजुरी गर्न पुगिरहेका छन् ।

 

 

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  १० : ५५ बजे