११ आश्विन २०८१, शुक्रबार | September 28, 2024

नेपाल भित्रियो मनसुन, सुदूरपश्चिम पुग्न अझै के‍ही दिन लाग्ने



जेठ-३१

नेपालमा मनसुन प्रवेश गरेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मनसुन नेपाल प्रवेश गरेको हो।

महाशाखाले कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भूभाग, बागमती प्रदेशको  अधिकांश भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा  मनसुन आइपुगेको जानकारी दिएको छ।

मनसुन जेठ २५ गते भारतको केरला पुगेको थियो । त्यहाँबाट एक सातामा मनसुन नेपाल आइपुगेको हो।

नेपालमा सरदर जुन १३ मा मनसुन भित्रन्छ। यसपालि एकदिन ढिला गरी मनसुन प्रवेश गरेको हो। पूर्वबाट झापा हुँदै नेपाल प्रवेश गर्ने मनसुन नेपालभरी फेलिन केही दिन लाग्छ।

मौसमविद् विनु महर्जनले पश्चिमी भूभागमा मनसुनी वर्षा हुन अझै केही दिन लाग्ने बताइन्।

उनका अनुसार अरबियन सागरमा ‘विपाजोए’ नामक चक्रवात विकसित भइरहेकाले पश्चिम र सुदूरपश्चिम क्षेत्रमा तत्काल मनसुन पुग्ने सम्भावना छैन।

चक्रवातका कारण पूर्वबाट पश्चिम बग्नुपर्ने मनसुनी हावा पूर्ण रूपमा बग्न नसकेकाले अहिले पश्चिममा पश्चिमी वायु नै सक्रिय छ।

‘चक्रवातको असर कम हुँदै गएपछि ती क्षेत्रमा पनि मनसुन प्रवेश गर्छ,’ मौसमविद् महर्जनले भनिन्।

मनसुन यति नै दिनमा नेपालभर पुग्छ भन्ने आकलन गर्न नसकिने पनि उनले बताइन्।

‘मनसुन सामान्यतया पाँचदेखि सात दिनसम्ममा देशभर पुगिसकेको हुन्छ, कहिलेकाहीँ ढिलाचाँडो हुनसक्छ,’ उनले भनिन्।

यसपालि सुदूरपश्चिम र पश्चिमी भूभागमा मनसुनी वर्षा पुग्न अझै केही दिन लाग्ने भएकाले त्यस क्षेत्रमा तापक्रम तत्काल नघट्ने महर्जनले बताइन्।

पश्चिम तराईका भूभागहरुमा केही दिन तापक्रम यथावत् रहेपनि मध्य तराईका भूभागमा भने घट्दै गएको उनले बताइन्।

‘भैरहवा लगायत मध्य तराईका भूभागमा हिजो अस्तिबाट अलिअलि तापक्रम घटेको देखिएको छ। बदली पनि बढ्न थालेको छ,’ उनले भनिन्,’पानी पर्न सुरू भएपछि विस्तारै तापक्रम घट्ला,केहीदिन कायमै रहने देखिन्छ।’

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ४ : ५७ बजे