५ आश्विन २०८१, शनिबार | September 21, 2024

पश्चिम तराईमा तातो हावा भने पूर्वमा बाढी पहिरो



असार-०१

नेपालमा मनसुनी प्रणाली भित्रिएको तीन दिन भइसक्दा पनि पश्चिम नेपालसम्म फैलिन सकेको छैन । पूर्वी नेपालमा भौतिक संरचनामा क्षति पुग्ने गरी वर्षा र बाढी आउँदा पश्चिम तराईका जिल्लामा भने तातो हावा र लुको अवस्था छ ।

नेपालमा यस वर्षको मनसुन जुन १४ तारिखमा भित्रिएको थियो । यो पूर्व र मध्य नेपालमा केन्द्रित छ । तर पश्चिमतर्फ सर्न सकेको छैन ।

मौसमविद सन्जिव अधिकारीका अनुसार पश्चिम नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम छ । त्यसले मनसुनी प्रणालीलाई फैलिन रोकिरहेको छ । जसले गर्दा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरुमा अत्यधिक गर्मी कायम छ । ‘तराईका जिल्लामा अझै केही दिन गर्मी नै हुने देखिन्छ,’ मौसमविद अधिकारीले भने, ‘पूर्वी तराईमा थोरै कम भए पनि पश्चिम तराईमा तातो हावा वा लुको अवस्था छ ।’

बिहीबार सबैभन्दा धेरै अधिकतम तापक्रम रुपन्देहीको भैरहवामा ४३.३ डिग्री सेल्सियस मापन भएको थियो । बाराको सिमरा र बाँकेको नेपालगञ्जमा समान ४१, कैलालीको धनगढीमा ३९.७, डोटीको दिपायलमा ३९.५, सुर्खेतको वीरेन्द्रनगरमा ३८.७ र दाङको घोराहीमा ३८.१ डिग्री सेल्सियस मापन भएको छ ।

मौसमविद विनोद पोख्रेलका अनुसार तराईका अधिकांश भूभागमा कम्तिमा ३–४ दिनसम्म सुक्खा हुने पूर्वानुमान छ । मध्यपहाडी, पूर्वी र मध्य क्षेत्रहरुमा भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुनमा महाशाखाका मौसमविद सन्जिव अधिकारीका अनुसार अहिले मनुसन कोशी प्रदेश र त्यस आसपासमा मात्र सक्रिय छ ।

गत २४ घण्टामा ताप्लेजुङमा सबैभन्दा धेरै ३१.६ मिलिमिटर वर्षा भएको रेकर्ड छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १ : १२ बजे