६ आश्विन २०८१, आइतबार | September 22, 2024

नेपालले जिम्बाबेलाई दियो २९१ रनको लक्ष्य



असार-०३

नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा ओपनिंग ब्याटिंग गर्दै कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि आफ्नो पहिलो खेलमा आइतबार घरेलु टोली जिम्बाबेलाई २ ९१ रनको विजय लक्ष्य दिएको छ ।  टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रन बनाएको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय भुर्तेल र आसिफ शेखले १७१ रनको साझेदारी गरेका थिए ।

एक रनका कारण सतक पूरा गर्नबाट चुकेका कुशल भुर्तेलले ९५ बलको सामना गरी २  छक्का र १३ वटा चौका प्रहार गर्दै ९९ रन बनाए  । अर्का ओपनर आसिफ शेखले १००  बलको सामना गरी सात चौका सहित ६६ रनको पारि खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले पनि टोलीको खातामा ४१ रन थपे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ४२ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काएका थिए । कप्तान रोहित पौडेलले पनि ३१ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका पौडेलले २९ बलमा पाँच चौका प्रहार गरे ।

आरिफ शेखले १० र गुल्सन झाले १३ रन जोडे । भीम सार्की भने शून्य रनमै पेभेलियन फर्किए । दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए । करण केसीले अविजित दुई रन जोडे । जिम्बाबेका बलर रिचर्ड नागाराभाले चार विकेट लिए । वेलिङ्टन मासाकाद्जाले पनि दुई विकेट हात पारे । टेन्डाई चाटाराले एक विकेट लिए । नेपालले अतिरिक्त रुपमा २२ रन पाएको थियो ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : ३२ बजे