४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

देशको ऋण २१ खर्ब ७३ अर्ब, ११ महिनामा ३ खर्ब ऋण थप



असार-०६

मुलुकको सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब २४ करोड रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन केन्द्रका अनुसार यो वर्ष थपिएको तीन खर्ब ऋणसहित तिर्न बाँकी सार्वजनिक ऋण २१ खर्ब ७३ अर्ब रूपैयाँभन्दा धेरै पुगेको हो।

तिर्न बाँकी सार्वजनिक ऋणमध्ये दस खर्ब ९९ अर्ब ७२ करोड रूपैयाँ आन्तरिक ऋण (मुलुकभित्रका बैंक तथा वित्तीय संस्था तथा सर्वसाधारणबाट उठाइएको) छ। त्यस्तै दस खर्ब ७३ अर्ब ५२ करोड रूपैयाँ बाह्य ऋण (बहुपक्षीय तथा दुई पक्षीय दातृ निकायसँग लिइएको) छ।

‘विगतमा आन्तरिकको तुलनामा वैदेशिक ऋणको मात्रा बढी हुन्थ्यो। यसपटक आन्तरिकको भार बढी छ। तर आर्थिक वर्षको अन्त्यसम्म यो कायम नरहन सक्छ,’ सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख भूमिराज शर्माले भने।

उनका अनुसार चालु वर्षमा बढेको विदेशी विनिमय दर परिवर्तनको प्रभाव अहिले हिसाबमा गरिएको छैन। वर्षको अन्त्यमा यो हिसाब मिलान गर्दा विनिमय दरको कारण ऋणको भार बढ्छ।

जेठ महिनामा मात्रै ४३ अर्ब ८३ करोड रूपैयाँ सार्वजनिक ऋण थपिएको छ। जसमा ४० अर्ब ६८ करोड आन्तरिक र तीन अर्ब १४ करोड रूपैयाँ मात्रै बाह्य ऋण उठाइएको छ।

गत साउनदेखि जेठसम्ममा तीन खर्ब रूपैयाँभन्दा बढी ऋण थपिएको छ। जसमा दुई खर्ब २० अर्ब ३८ करोड आन्तरिक ऋण उठाइएको छ भने ७९ अर्ब ६७ करोड रूपैयाँ मात्रै बाह्य ऋण उठाइएको छ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १२ : ३८ बजे