४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

‘दलितले छोएको पानी खान्न’ भन्ने उपप्रमुखले कुरा बटार्दै माफ मागिन्



आसर-०७

दलित समुदायको अपमान गरेको आरोपमा चौतर्फी आलोचना खेपिरहेकी बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले माफी मागेकी छन् । आफ्नो अभिव्यक्तिका कारण दलित समुदायको आत्मसम्मानमा चोट पुर्याएकोप्रति उनले माफ मागेकी हुन् ।

गत जेठ २१ गते जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा भएको दिनको अवसरमा आयोजित सार्वजनिक कार्यक्रममा उनले ‘आफू ठकुरीको छोरी भएकाले दलितको हातको पानी नखाने’ अभिव्यक्ति दिएकी थिइन् । उनको सो अभिव्यक्तिको राष्ट्रिय दलित आयोगसहित अन्य दलितसम्बद्ध संघसंस्थाले विरोध जनाएका थिए ।

उपमेयर चन्दले सिंगो दलित समुदायको अपमान गरेको भन्दै उनलाई कारबाही गर्न माग भैरहेको छ । आफ्नो अभिव्यक्तिको चौतर्फी विरोध भएपछि उनले सार्वजनिक रुपमा क्षमा मागेकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन,२०७४ ले दिएको न्यायिक समिति प्रमुखको रुपमा समेत न्यायिक निर्णय लिँदा सधैं उत्पीडित वर्गको पक्षमा रहने उल्लेख गर्दै उपमेयर चन्दले आफ्नो अभिव्यक्ति जातीय छुवाछुत प्रेरित नभएको बताएकी छन् ।

‘जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा मैले व्यक्त गरेका अभिव्यक्ति जातीय छुवाछुत प्रेरित थिएनन् । यदि मेरो भनाइ र व्यवहारमा कहिँ कतै जातीय विभेद गर्ने आशयको जस्तो यहाँहरुलाई महसुस भएको भए यहाँहरुको भावनाको उच्च सम्मान गर्ने नगर उपप्रमुख र यहाँहरुको नेताको रुपमा क्षमा चाहन्छु’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, उनले जातीय समानता कायम गर्ने यात्रामा हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाएकी छन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  २ : ५३ बजे