१२ मंसिर २०८१, बुधबार | November 27, 2024

खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छ– गृहमन्त्री श्रेष्ठ



असार -७
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले आवश्यक पूर्वतयारी गरेका कारण विपद्पछि उद्धार, खोजी र राहत कार्यलाई व्यवस्थितरुपमा सम्बोधन गर्न सकिएको जानकारी दिनुभयो ।

गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “विपद्का घटनामा तत्काल उद्धारकार्यका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहनुका साथै कमाण्ड पोष्टसमेत गठन गरिएको छ, त्यससम्बन्धी राष्ट्रिय कार्ययोजना पनि निर्माण गरिएको छ ।” थुप्रै सम्भावनाका बीचमा पनि नेपाल भूकम्प, बाढीपहिरो, जलवायु परिवर्तनको असरबाट हुने क्षतिका हिसाबले उच्च जोखिममा रहेकाले विभिन्न खाले विपद्को सामना गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले राहत, उद्धार र सहयोगलगायत विषयलाई प्रभावकारी विभिन्न तहमा गठन गरिएको समितिबाट प्रभावकारीरुपमा काम हुने जानकारी दिनुभयो ।

विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र व्यवस्थापन गर्न ११ स्थानमा मानवीय सहायता आपतकालीन भण्डारण खडा गरिएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले पाँच वटा मेसिन जडानसहित २७ डुङ्गाको व्यवस्थापन भइरहेको बताउनुभयो ।

खोज तथा उद्धार सामग्री, एम्बुलेन्स, अग्नि नियन्त्रण, अग्निप्रतिरोधी कपडासहितको सामग्री खरिद गरी जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई पठाइसकिएको जानकारी दिँदै उहाँले हवाई उद्धारका हेलिकप्टर तथा बाढीपहिरोले भत्काएका स्थानमा तत्काल यातायात सञ्चालन गर्नका लागि बेलिब्रिजको व्यवस्था गरिने बताउनुभयो । विपद्का घटनापछि तत्काल मानवीय उद्धार र स्थानान्तरण, पहुँच स्थापित, पुनःस्थापना र पुनःनिर्माणको काम क्रमश हुने उहाँले स्पष्ट पार्नुभयो ।

यसैबीच, समितिले विपद् जोखिम न्यूनीकरण प्रतिकार्य तथा व्यवस्थापनका लागि पूर्वतयारी, जोखिममा परेका व्यक्ति÷परिवारको पुनःस्थापना र पुनःनिर्माण कार्य प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । बैठकले पूर्वी पहाडमा बाढीपहिरोले पु¥याएको क्षति आँकलन गरी राहत, पुनःस्थापना र पुनःनिर्माणकार्य प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको सभापति प्रकाश पन्थले बताउनुभयो ।

बैठकमा गृहमन्त्रालयकातर्फबाट गत जेठ ३१ गतेदेखि यता मनसुनजन्य विपद्मा परी भोजपुर, नुवाकोट, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तनहुँ र गोरखामा गरी १३ जनाको मृत्यु भएको जानकारी दिइयो ।

उक्त बाढीपहिरोमा परी २६ जना बेपत्ता, आठ जना घाइते हुनका साथै ४१ घर पूर्णरुपमा र सात घर आंशिक क्षति पुगेको तथ्याङक प्रस्तुत गरियो ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ३ : ०५ बजे