४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

वडाध्यक्षले कार्यकक्षमै गरे शिक्षा अधिकृतलाई हातपात



असार-०८

दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सुनिल वलीलाई फेरि कर्मचारीमाथि हातपात गरेको आरोप लागेको छ। उनी स्वतन्त्र रूपमा निर्वाचित वडाध्यक्ष हुन्।

वडाध्यक्ष वलीले बिहीबार दिउँसो ४ बजेतिर शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको आरोप लागेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले वडाध्यक्ष वलीमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयसँग माग गरेका छन्।

खड्काका अनुसार वडाध्यक्ष वली शिक्षा शाखामा प्रवेश गरी सरकारको सशर्त बजेट अन्तर्गत जनकल्याण माध्यमिक विद्यालय सिमसुन्दरपुरमा कार्यान्वयन हुने पुस्तकालय स्थापना कार्यक्रमको फाइल मागेका थिए।

वडाध्यक्षले सोही कुरामा विवाद झिकी आफैंले फाइल बोकेर प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा प्रवेश गरेका थिए।

शिक्षा अधिकृत पाण्डेको समेत उपस्थितिमा छलफल चलिरहँदा र तर्कवितर्क भएपछि वडाध्यक्ष वलीले कार्यक्रमसँग सम्बन्धित सम्झौताको फाइल नै च्यातेको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताएका छन्। त्यसपछि वडाध्यक्ष वलीले सामुन्ने अगाडि बसेका शिक्षा अधिकृत पाण्डेलाई हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताएका छन्।

घटनाबारे जानकारी लिन खोज्दा वडाध्यक्ष वलीको मोबाइलमा सम्पर्क हुन सकेन।

गत फागुन महिनामा मात्रै वडाध्यक्ष वलीले गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि कार्यकक्षमै हातपातको प्रयास गरेका थिए।

उनले कुर्सी उठाएर दुबै जनालाई त्यसैले हान्न खोजेका थिए। त्यसको विरोधमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन दिए पनि फेरि त्यस्तो कार्य नदोहोर्‍याउने सर्तमा कुरा मिलेको थियो।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : ५१ बजे